अदालतले देशलाई अस्तिरतातर्फ फर्काउँदैन : प्रधानमन्त्री ओली

0

काठमाडौं : नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले अस्थिरता तर्फ देश नफर्काउने भन्दै अदालतमाथि दवाब सिर्जना गरेका छन् । 

नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा अस्थिरता सिर्जना हुने भन्दै उनले विघटन नै सदर गर्न अदालतमाथि दवाब बढाउन खोजेका हुन् ।

उनले भने, ‘देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मैले विश्वास लिएको छु । अस्थिरता तर्फ देशलाई फर्किन दिनु हुँदैन । अब कुनै पार्टीको बहुमत रहँदैन यदि संसद पुनर्स्थापना हुने हो भने । बहुमत नरहेपछि किनबेच, मोलतोल शुरु हुने, अनुचित समिकरण शुरु हुने,बाँकी डेढ वर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्छ । त्यसैले अब अलमलिने होइन सोझै जनतामा जनादेशका लागि जानुपर्छ ।’

देश चलाउन नसक्ने अवस्थामा पुगेपछि विशेषाधिकार प्रयोग गरी आफूले प्रतिनिधिसभा विघटन गरेको उनले जिकिर गरे ।

उनले भने, ‘संविधान विपरीत होइन विल्कुल संविधानसम्मत ढंगले विघटन भएको छ । म लगभग दुई तिहाई अर्थात् ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले विघटन गरेपछि अर्को कुनै विकल्प छैन । मलाई चलाउन नदिएपपछि, मैले चलाउन नसक्ने अवस्था भएपछि र देश अस्थिरता तर्फ धकेलिने अवस्था भएपछि मैले संसद विघटन गरेँ ।’ 

उनले अगाडि भने, ‘संविधानको धारा ७६ १ अन्तर्गतको सरकारले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम विघटन गरिएको हो । धारा ८५ ले भने अनुसार विघटन गरेको हो । प्रधानमन्त्रीको विशेषाधिकारको प्रयोग गरेर विघटन गरेको हो । त्यसकारण यो संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ ।’

प्रधानमन्त्री ओलीले बैतडीकी भागरथी भट्ट र कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताए । उनले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई पानी मुनि गए पनि नछाड्ने दाबी गरे ।

प्रचण्ड-माधव समूहलाई निर्वाचनबाट किन आत्तिएको भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले आगामी चुनावमा आफ्नो समूहले समानुपातिकमा ५० लाख मत ल्याउने दोहोर्‍याए ।

उनले माघ २८ गतेको प्रचण्ड-माधव समूहको सभामा १४ जना वक्ता बोलाएर ‘गाली पुराण’ सुनाएको भन्दै कटाक्ष गरे । प्रधानमन्त्री ओलीले जनसभागिता र जनसभा हेर्न बुटबल आउन प्रचण्डलाई आग्रह गरे ।

उनले भने, ‘३ दिन अगाडि मात्रै देशभरीबाट अलिकति मान्छे जम्मा गरेर जनसभागिता हेर्न यहाँ आऊ केपी ओली भनेर मलाई केही मान्छेहरुले भनेका थिए । आज म देशभरीको होइन लुम्बिनी प्रदेशको यो बुटवलको सभा हेर्न आउनका लागि आग्रह गर्न चााहन्छु । आउनुहोस् जनसहभागिता कस्तो हुन्छ हेर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले सरकारले गरेका विकासका काम देखेर विरोधीहरु आत्तिएका बताउँदै यसबारे फागुन तीन गते सिंहदरबारबाट बताउने जानकारी दिए । ओली प्रधानमन्त्री बनेको फागुन तीन गते तीन वर्ष पुग्दैछ ।

Leave A Reply

Your email address will not be published.