रामकुमारी झाँक्री रिहा

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झँक्री रिहा भएकी छन् । नेतृ झाँक्रीलाई प्रहरीले उनका श्रीमान पशुपति पुरीको जिम्मामा रिहा गरेको हो ।

रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताइन् । आफूले राष्ट्रपतिको संस्थामाथि भन्दा पनि व्यक्तिको आचरणबारे बोलेकाले कुनै पश्चाताप नभएकोसमेत बताइन् ।

नेतृ झाँक्रीले चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले आफुलाई रिहा गरेको बताउँदै  प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने समेत बताइन् ।

प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार दिउँसो शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । उनले गोरखामा नेकपा एमालेले मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने गलत संस्कृति शुरू गरेको आरोप लगाएकी थिइन् ।

मदन भण्डारीको हत्यापछि तत्कालिन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो ।

सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै झाँक्री विरुद्ध  कारवाहीको माग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.