ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश

0

काठमाडौं : बालुवाटारको ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई धरौटीमा रिहा गर्न विशेष अदालतले अस्वीकार गरेको छ ।

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त मानिएका ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको हो ।

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो । यस्तै डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन एक कर्मचारीलाई पनि विशेषले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

Leave A Reply

Your email address will not be published.