चुनाव गराउन निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब

0

काठमाडौं : निर्वाचन गराउन सात अर्ब बढी रकम आयोगद्वारा माग निर्वाचन आयोगले सरकारसँग वैशाखका लागि तय गरिएको चुनवा गराउन झण्डै ७ अर्ब बढी रकम माग गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले सरकारसँग सात अर्ब, ९४ करोड ९४ लाख ८० हजार रुपैयाँ चुनाव गराउनका लागि माग गर्ने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

कोभिड–१९ महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुनेगरी अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिइ निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

विगतका निर्वाचनमा प्रयोग भई हाल मौज्दात रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको तथा नयाँ सामग्री, उपकरण र सवारी साधन खरीद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिएको छ ।

कोभिड–१९ सगँ सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यकपर्ने न्यूनत्तम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

निर्वाचनको काममा आयोग, ७७ जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनसँग सम्बन्धित तालीम, अनलाइनका माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकाले आसन्न निर्वाचन थप मितव्ययी हुने आयोगको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.