संवैधानिक निकायमा आजै बलजफ्ती शपथको तयारी

0

संसदीय सुनुवाई बिना नै संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुलाई आज बलजफ्ती शपथ खुवाउने तयारी गरिएको छ ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरुलाई शपथ खुवाउन लागिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राई, मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर, महिला आयोगको अध्यक्षमा कमला पराजुलीलगायतले आज राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीबाट शपथ लिँदै छन् । उनीहरु शपथका लागि केही बेरमा राष्ट्रपति कार्यालय पुग्न लागेको श्रोतले बतायो ।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय तथा आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाई जारी रहेका कारण सिफारिस भएका व्यक्तिहरुको सुनुवाई हुन सकेको थिएन ।

संघीय सांसदको कार्यसञ्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । सोही अनुसार आज उनीहरुले शपथ लिन लागेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले भने निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए । प्रतिनिधिसभा विघटन भएसँगै संसदीय सुनुवाइ समिति पनि विघटन भएकाले संवैधानिक निकायमा नियुक्ति हुन नसक्ने सभामुख सापकोटाको भनाइ छ ।

अध्यादेशमार्फत ऐन संशोधन गरेपछि ओलीको अध्यक्षतामा मंसिर ३० गते बेलुका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा बसेको संवैधानिक परिषदको बैठकले ११ संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको हो ।

Leave A Reply

Your email address will not be published.