म्यानमारमा सैनिक ‘कू’को आशंका, राष्ट्रपति र नेतृ आङ सान सूची ’गिरफ्तार’

0

एजेन्सी : म्यानमारमा सैनिक ‘कू’ भएको छ । सोमबारबाट नवनिर्वाचित संसदको बैठक शुरु हुन लागेको समयमा सेनाले राष्ट्रपति सहित थुप्रै नेतालाई पक्राउ गरेको हो ।

राजधानी नेदिप र मुख्य सहर यानगुनका गल्लीहरूमा सेना परिचालन गरिएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

सेनाले शीर्ष नेताहरुलाई घरबाट नै नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी ‘एनएलडी’ की नेतृ आङ सान सूची पक्राउ परेकी छिन् ।

सेनाले सत्ता हत्याउने आशंकामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो । सूचीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूपनि पक्राउ परेका छन् ।

गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसदमा पर्याप्त सिट जितेको छ । नोभेम्बर ८ मा भएको चुनावमा एनएलडीले उपलब्ध मध्ये ८३ प्रतिशत सिटमा जित हाँसिल गरेको थियो ।

सेनाले चुनावमा धाँधली भएको जनाएको छ । चुनावमा धाँधली भएको भन्दै सेनाले संसद बैठक बस्न दिएको थिएन । सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सूकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।

Leave A Reply

Your email address will not be published.