चीनबाट ३ लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध हुने

0

काठमाडौ : भारत पछि उत्तरी छिमेकी मुलुक चीनले पनि नेपाललाई अनुदानमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । चीनले आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराउने भएको हो । 

काठमाडौंस्थित चिनियाँ दूतावास अनुदानमा उपलब्ध गराइने ३ लाख डोज खोप छिट्टै नेपाललाई हस्तान्तरण गरिने छ । नेपाल सरकारकै अनुरोधमा अनुदानमा खोप उपलब्ध गराउने निर्णय भएको चिनियाँ दूतावास स्रोतले जानकारी दिएको छ । 

चीनले दिएको खोप १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्ने जनाइएको छ । चीनले दिन लागेको खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको जनाइएको छ । आइतबार (जनवरी ३१ सम्म) चीनमा २ करोड ४० लाख मानिसलाई यो खोप दिइसकिएको जनाइएको छ । 

काठमाडौंस्ति चिनियाँ दूतावास स्रोतका अनुसार अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, यूएईलगायत १३ मुलुकमा यो खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ । खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको पनि दूतावास स्रोतको दाबी छ । 

यसअघि दक्षिणी छिमेकी मुलुक भारतले नेपाललाई अनुदानमा कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराएको थियो । भारतले अनुदानमा उपलब्ध गराएपछि अहिले देशव्यापी रुपमा नै कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराए पछि अहिले  काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोनाविरुद्धको खोप दिइँदै छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ  ।

बुधबारबाट शुरु गरिएको अभियानको पाँचौं दिन (आइतबार)सम्म देशभरका ७७ जिल्लामा गरी ८८ हजार ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा १२ हजार ७६३, प्रदेश नम्बर २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ । 

Leave A Reply

Your email address will not be published.