ओलीमाथि प्रचण्ड-माधव समूहको आरोपै आरोप

0

विराटनगर : नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश एकको राजधानी विराटनगरमा जनप्रदर्शन गरेको छ ।

नेकपा एक नम्बर प्रदेश कमिटीको आयोजनामा भएको सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले संविधान विघटन गरेर लोकतन्त्रमाथि हमला गरेको बताए ।

उनले मनपरि गुन्डागर्दी गर्दैमा संसद् विघटन नहुने समेत बताए । ओलीको महाराज बन्ने सपना पूरा हुन नदिने पनि उनले उद्घोष गरे । 

केपी ओली बेइमान, धुर्त, ठग भएको र उनको पछाडि राजा महाराजाका धुपौरे मात्रै लागेको बताए । ‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, प्रचण्डले भने ।

‘जरुरी परे संसद बैठक बसेर कारबाही’

जरुरी पर्‍यो भने संसदको बैठक बसेर ओलीलाई कारबाही गरेर जान सक्ने भएपनि सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर कुरेर बसेको प्रचण्डको भनाइ थियो । उनले अदालतबाट सोचेअनुसारको फैसला नआए संसद् बैठक बसेर अपराधीलाई कारबाही गर्ने बताए ।

‘केपी ओलीलाई संसद विघटन गर्ने अधिकार छैन,’ उनले भने, ‘जरुरी पर्‍यो भने बैठक बस्छ । सभामुखले बैठक बोलाउँछन्, हामी उपस्थित हुन्छौं ।’ उनले अगाडि भने, ‘सर्वाेच्चले पक्कै पनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं, जरुरी परे विकल्प जनतासँग छ ।’

‘ओलीको तानाशाह फाल्न समय लाग्दैन’

अर्का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री ओलीले संविधानको घाँटी निचोर्ने काम गरेको बताए । राजा महेन्द्र र ज्ञानेन्द्रको तानाशाह फालेको बताउँदै ओलीको तानाशाह फाल्न आफूहरूलाई समय नलाग्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले अहिलेको लडाइँ संविधान मान्ने र नमान्ने बीचको लडाइँ भएको उल्लेख गरे । उनले नेकपाको आधिकारिक र चुनाव चिह्न सूर्य आफूहरूसँगै रहने दाबी गरे । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड-माधव समूहले विराटनगरमा सभा गरेको हो ।

‘ओली राष्ट्रघाती र भष्मासुर’

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली राष्ट्रघाती र भष्मासुर रहेको टिप्पणी गरे । नेता खनालले आफुहरु सडकमा रहरले आएको नभई बाध्यताले आएको बताउँदै भने, ‘हामी फेरि एकपटक सडकमा आएका छौ । किनभने प्रधानमन्त्री केपी ओलीजस्तो मान्छे यो देशमा जन्मियो, कम्युनिष्ट पार्टीमा जन्मियो, यो देशको प्रधानमन्त्रीका रुपमा जन्मियो तर त्यो मान्छे भष्मासुर रहेछ ।’

उनले देशमा गरिबी र अशिक्षा उन्मुलन गर्नुपर्ने बेलामा केपी ओलीका कारण सिंगो देश आन्दोलित बनेको भन्दै प्रतिकृयावादी ओली प्रवृत्तिलाई परास्त गर्दै नेकपालाई समाजवादी पार्टी बनाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।

Leave A Reply

Your email address will not be published.