साढे तीन वर्षपछि साउदी अरबले हटायो कतारमाथिको नाकाबन्दी

0

एजेन्सी : साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने भएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि लगाएको नाकाबन्दी हटाउने भएको हो । साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले पनि दिएको छ ।

मंगलबार साउदी अरबमा हुने खाडी राष्ट्रका छ देशको बैठक अघि साउदीको पछिल्लो निर्णय आएको हो । सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाईस्थल नाकाबन्दी गरेको थियो । कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध लगाइएको थियो ।

कुवेतको पहलमा कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासपछि हटाउने निर्णय भएको हो । यूएई, बहराइन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए ।

यसैबीच साउदी अरबमा महिलासँग सम्बन्धित कानून थप खुकुलो भएको छ । नयाँ कानून बमोजिम अब महिला वा पुरुष जसले पनि आफ्नो नाम आफू एक्लैको निर्णय अनुसार परिवर्तन गर्न पाउने भएका छन् ।

पहिले यो अधिकार पुरुषलाई मात्र थियो महिलाले भने परिवारको अनुमतिमा मात्र आफ्नो नाम परिवर्तन गर्न सक्थे । तीन वर्षअघि महिलालाई गाडी चलाउन खुला गरेको साउदी सरकारले एउटा महत्वपूर्ण कानुन संशोधन गरी थप स्वतन्त्रता दिएको हो ।

पछिल्लो समय साउदी अरेबियाले महिला स्वतन्त्रता बढाउदै लगेको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमानले भिजन २०३० सुरुवात गरेका छन् । तेल अर्थतन्त्रवाट साउदी अरेबियाले पर्यटनका लागि आफ्नो ढोका खोल्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.