पार्टीको वैधानिकता निर्वाचन आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा आधिकारिक भएको दावी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने पनि बताए । आधिकारिकता नपाउने देखेपछि दाहाल-नेपाल समूह कागज छातिमा टाँसेर यहाँ छौं भन्ने अवस्थामा पुगेको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले दाहाल-नेपाल पक्षको निवेदन रित नपुगेको भनेर फिर्ता गरेको पनि दावी गरे । उनले दाहाल-नेपाल समूहले निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाएको समेत बताए । सडकबाट घोषणा गरिएको बहुमतको कुनै अर्थ नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यसको फैसला चुनावपछि हुने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानुपरेको बताए । उनले दाहाल-नेपाल समूह राष्ट्रपति संस्थामाथि असभ्य आक्रमण र गणतन्त्रविरुद्ध लागेको पनि आरोप लगाए ।

आफुविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा सभामुख अग्नी सापकोटाले किर्ते सनाखत गरेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाए । संसदका प्रस्तावहरुलाई निर्णयार्थ पेश नगरेर सभामुखले छिमेकीसँगको सम्बन्ध पनि अप्ठेरोमा पारेको गुनासो उनको थियो । प्रधानमन्त्री ओलीले आफूले मेहेनतका साथ काम गरिरहेकाले धेरै चिन्ता लिनुपर्ने र निराश हुनुपर्ने अवस्था नभएको समेत दावी गरे ।

Leave A Reply

Your email address will not be published.