प्रदेश एकमा शेरधन राईलाई हटाएर भीम आचार्य संसदीय दलको नेता चयन

0

काठमाडौं : प्रदेश एकको नेकपा संसदीय दल आजबाट औपचारिक रुपमा विभाजन भएको छ । प्रचण्ड-माधव पक्षले मुख्यमन्त्री एबं संसदीय दलका नेता शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई नेता चयन गरेको हो ।

बिहीबार बसेको दाहाल नेपाल समूहको संसदीय दलको बैठकले राईलाई नेताबाट हटाएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको दाहाल नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्तावित आचार्यलाई संसदीय दलको नेता घोषणा गरेको हो ।

आचार्य यसअघि राईसँग संसदीय दलको नेतामा पराजित भएका थिए । मुख्यमन्त्री राई प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् । आचार्य नेकपाका प्रदेश एक इन्चार्ज हुन् ।

प्रदेश १ मा प्रदेशसभामा ९३ जना सदस्य छन् । प्रदेश एकको प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । तिमध्ये ३७ जनाले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । तिमध्ये एकजनाले भने हस्ताक्षर फिर्ता लिएका छन् ।

नेकपाका सांसदमध्ये प्रचण्ड-माधव समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । नेपाली काँग्रेसका २१ , जनता समाजवादीका तीन, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक एक जना प्रदेश सांसद छन् ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा गरेका थिए । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्रीहरू जसमाया गजमेर र विजयकुमार विश्वास रहेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आंङबोलाई भने मुख्यमन्त्री राईले हटाएका थिए ।

Leave A Reply

Your email address will not be published.