साउदीकी प्रख्यात महिला अधिकारवादी हथलुललाई जेल सजाय

0

एजेन्सी : साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल हथलुललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ ।

आतंकवाद विरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो । उनले त्यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन् ।

साउदी सरकारले भने यो विषयसँग उनको पक्राउको कुनै सम्बन्ध नभएको बताएको छ । ३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन् ।

उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक–पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन् । उनको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको अधिकारकर्मीको दावी छ ।

Leave A Reply

Your email address will not be published.