‘थ्रेसहोल्ड’ राख्नुपर्छ : पूर्व आयुक्त पोखरेल

0

काठमाडौं, १७ साउन । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आगामी निर्वाचनमा कम्तिमा पनि दुई प्रतिशत ‘थ्रेसहोल्ड’ राख्नुपर्ने बताउनुभएको छ । मेरो नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा निर्वाचनसम्बन्धी प्रावधानको एक समीक्षा’ कार्यक्रममा पोखरेलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा निर्वाचनमा देखिने गरेका विकृति समाधान भएर जान सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा चुनाव महङ्गो भएकाले जो कोहीले चुनाव लड्न सक्ने अवस्था नभएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली वा तीन लाख जनसङ्ख्या हुने गरी ठूलो निर्वाचन क्षेत्र बनाउनुपर्ने तर्क राख्नुभयो ।
पोखरेलले संविधानमै कहिले निर्वाचन गर्ने भन्ने ‘क्यालेण्डर’ नै राखे आवधिक निर्वाचन सुनिश्चित हुने तर्क गर्दै वडाध्यक्षको प्रत्यक्ष निर्वाचन हुनुपर्ने, गाउँको अध्यक्षमा पालैपालो महिला र पुरुष हुने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
कानुनविद् डा दिनेश त्रिपाठीले जनताको मताधिकारलाई सुनिश्चित गर्नुपर्ने भन्दै निर्वाचनको समयमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउन नहुने बताउनुभयो । मेरो नेपालका संयोजक प्रदीप घिमिरेले वडा, गाउँ, जिल्लादेखि उच्च निकायमा महिला र पुरुषको प्रतिनिधित्वको आधार मिलाउनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.