गत आ.व.मा आधाभन्दा बढी उजुरी तामेलीमा

0

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/०७७ मा आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा फर्छ्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानविनबाट तामेलीमा राखिएको हो ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएका हुन् । उक्त अवधिमा आयोगमा २५ हजार १ सय ५२ उजुरी दर्ता भएका थिए, जसमध्ये अघिल्लो आर्थिक वर्षका ८ हजार ५ सय ५८ वटा उजुरी सरेर आएका थिए ।

कुल उजुरीमा फर्छ्योट बाँकी रहेका ८ हजार २ सय उजुरी भने आर्थिक वर्ष २०७७/०७८ का लागि सरेका छन् । ७ सय ८६ उजुरी सुझावसहित तामेलीमा पठाइएको छ । फर्छ्योट भएकामध्ये १ हजार १ सय ४३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ भने ५ हजार ६ सय ३६ उजुरीमाथि अन्य आवश्यक कारबाही भएका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी संघीय मामिला मन्त्रालयसँग सम्बन्धित दर्ता भएका छन् । अनुसन्धानबाट ६८७ वटा कारबाही भएका छन् । आयोगले गत आर्थिक वर्षमा हालसम्मकै धेरै ४४१ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

Leave A Reply

Your email address will not be published.