संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले नेकपाको विवाद थप चुलियो

0

काठमाडौं : संवैधानिक परिषद सम्बन्धी अध्यादेशले नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ । नेकपाको विवाद चर्किएको बेलामा सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि असन्तुष्ट बनेका सचिवालयका पाँच जना सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले पार्टी बैठक चलिरहेका बेला गैरसंवैधानिक तरिकाले अध्यादेश ल्याएपछिको अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।

खुमलटार छलफलमा दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति विद्या देवी भण्डारीलाई आग्रह गर्ने बुझिएको छ ।

बैठक अघि नै अध्यक्ष दाहाल, नेता झलनाथ खनाल सहितका नेताहरुले अध्यादेश तत्काल खारेज गर्न माग गरेका थिए । अध्यादेशलाई उनीहरुले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने माग गरेका हुन् ।

असंवैधानिक, परिवर्तन विरोधी र कुनियतका साथ अध्यादेश आएको उनीहरुको तर्क छ । यसैबीच अध्यादेश प्रकरणले पार्टीमा विवाद बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेता सुवास नेम्वाङलाई खुमलटार पठाएका थिए ।

असन्तुष्ट नेताहरुको बैठक बस्नुअघि नै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आवश्यकताका आधारमा ल्याइएको भन्ने ओलीको सन्देश लिएर नेता नेम्वाङ अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.