काठमाडौं: नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय नाघेको छ । विगत २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार सात सय १६ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमणका कारण मृत्यु हुने संक्रमितको संख्या शुन्य दशमलब छ नौ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ४ सय २३ पीसीआर नमूना परीक्षण गर्दा ५ सय चार पुरुष र ३ सय १७ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।
काठमाडौं उपत्यकाका थप तीन सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ४६ जना काठमाडौं, ५३ जना ललितपुर र ३४ जना भक्तपुरका रहेका छन् ।
त्यस्तै प्रदेश १ मा ३४, प्रदेश २ मा १५, बागमतीमा ३ सय ९४, गण्डकीमा ९५, लुम्बिनीमा १ सय तीन र सुदुरपश्चिममा ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ रहेको छ । तिमध्ये ७ हजार ३ सय ४० जना होम आइसोलेसन र ३ हजार ६ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ७३ जनाको सघन उपचार कक्ष र ५४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लोे २४ घण्टामा नेपालमा आठ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९४ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण पहिचानका लागि हालसम्म सरकारले १८ लाख ३६ हजार ४ सय ६४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरेको छ । अहिले देशभरका क्वारेन्टिनहरुमा ४ सय ७१ जना बसिरहेका छन् ।