राजावादीहरुको प्रदर्शनमा कम्युनिष्ट सरकार मुख्य जिम्मेवारी : देउवा

0

काठमाडौं : नेपाली कांग्रेसका शिर्ष नेताहरुले सरकार, नेकपा, राजावादीको आन्दोलनको आलोचना गरेका छन् । सरकार विरोधी प्रदर्शनका क्रममा विभिन्न जिल्ला पुगेका कांग्रेस शीर्ष नेताहरुले सरकार कोरोना नियन्त्रणभन्दा भ्रष्टाचार र अनियमितामा संलग्न भएको आरोप लगाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भएको आरोप लगाएका छन् । हटौंडामा सोमबार कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिष्ट सरकार मुख्य जिम्मेवारी भएको बताएका हुन् । कम्युनिष्ट सरकारका कारण देशमा राजा आउ देश बचाउ नारा लागेपनि कुनैपनि हालतमा त्यो सम्भव नभएको सभापति देउवाको भनाइ छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिष्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए ।

मोरङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री शसांक कोइरालाले कोरोना संक्रमण नियन्त्रण र भ्रष्टाचार रोक्न सरकार सफल भएको बताए । विना दृष्टिको सरकारले जनतालाई दुःख दिएको उनको आरोप छ ।

उता कैलालीमा कांग्रेस नेता गगन थापाले नेकपाको घर झगडा मिलाउने जिम्मेबारी मिलाउने कार्यमा राष्ट्रपति विद्यादेवी भण्डारी लागेकोमा आपत्ति जनाए । सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न चेतावनी दिदै थापाले राजा फाल्ने जनताले राष्ट्रपति पनि फाल्ने चेतावनी दिए ।

नेता थापाले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारी संरक्षण गरेको आरोप पनि लगाए । भ्रष्टाचारी हेर्न बालुवाटार गए पुग्ने उनको भनाइ छ । उनले आफैलाई बचाउन नसकेका राजाले जनतालाई बचाउने भ्रममा नपर्न समेत जनतालाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.