अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति

0

एजेन्सी : अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडिएले फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको कोरोना संक्रमण विरुद्धको खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

योसँगै अमेरिकामा प्रयोगका लागि स्वीकृत पाउने पहिलो खोप फाइजर बनेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन ‘एफडिए’का प्रमुख डा. स्टेफेन हानले विज्ञप्ति जारी गर्दै अमेरिकामा अनियन्त्रित बन्दै गएको संक्रमण रोक्न सो खोप प्रभावकारी हुने बताएका छन् ।

यसअघि ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोसले खोपलाई अनुमति नदिए एफडिएका कमिशनर स्टेफन हानलाई राजीनामा दिन दवाब दिएका थिए ।

पहिलो चरणमा यो खोप अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र जोखिमयुक्त क्षेत्रम काम गर्नेहरुलाई दिइनेछ । अमेरिकामा १६ वर्ष भन्दा बढी उमेर समुहमा मात्र सो खोप प्रयोग गरिने जनाइएको छ ।

फाइजरले अमेरिकामा पहिलो चरणको प्रयोगका लागि ६४ लाख डोज खोप उपलब्ध गराउने तयारी गरेको छ । सो खोप एक व्यक्तिलाई २ मात्रा प्रदान गर्नुपर्ने हुन्छ । यो हिसावमा ३३ करोड जनसंख्या रहेको अमेरिकामा पहिलो चरणमा प्रदान गरिने खोप ३० लाख व्यक्तिका लागि मात्रै पर्याप्त हुन्छ ।

आगामी हप्ताबाट खोप दिन शुरु गरिने अपेक्षा गरिएको छ । फाइजर खोपले बेलायत, क्यानडा, बहराइन र साउदी अरबमा यसअघि नै प्रयोगको अनुमति पाइसकेको छ । फाइजरको खोप ९५ प्रतिशत सफल देखिएको छ ।

Leave A Reply

Your email address will not be published.