चारदिशा सम्वाददाता।
व्रसेल्सको नवनिर्वाचित सरकारले तीन सय कर्मचारी कटौति गर्ने निर्णय गरेको छ। साधारण खर्च कटौति गर्ने योजना वमोजिम आगामी पाँच वर्षसम्म व्रसेल्सका सरकारी कार्यालयहरुमा कुनै पनि कर्मचारीहरु थपिने छैनन्। यस निर्णयले सरकारलाई एक करोड साठी लाख यूरो वचत गराउनेछ।
आजको संसदमा वोल्दै सामान्य प्रशासन मन्त्री आन्द्रे फ्लाओले प्रसाशनलाई चुस्त दुरुस्त पार्न सुधारको कदम चाल्न लागिएको जानकारि गराए। यद्यपि यो कटौतिले आपतकालिन सहयोग, सन्चार गृह, युवा तथा वृद्धाहरुसँग सम्वन्धित निकाय, न्यायलयमा कार्यरत कर्मचारीहरुलाई भने असर नगर्ने वताइएको “ला लिव्र वेल्जिक” पत्रिकाले उल्लेख गरेको छ।
सरकारको आर्थिक वचत गर्ने निर्णयले शिक्षा क्षेत्रलाई पनि प्रभावित पार्ने सीजीएसपी कर्मचारी संगठनले जनाएको छ।आम निर्वाचनको समयमा सवै राजनैतिक पार्टीहरुले शिक्षण संस्थामा विनियोजन हुने रकममा कुनै कटौति नगर्ने प्रतिवद्धता व्यक्त गरेतापनि सरकारले निर्णयले उक्त क्षेत्र शिकार भएको सीजीएसपीका अध्यक्ष पास्काल शार्दोमले वताए।
सरकारले दश कडोर कटौति गर्ने अपेक्षा गरीएको भएतापनि त्यो भन्दा धेरै नै कममा चित्त वुझाएकोले केही राहत दिएको समाचारमा उल्लेख गरीएको छ।
सरकारले २०१३ मा विश्वविद्यालयहरुका अनुसन्धान क्षेत्रमा वजेट कटौति गरेको भन्दै विरोध भएको थियो।सरकारी निर्णय विरुद्ध शिक्षक, विद्यार्थी तथा शिक्षाविद्हरुले विरोध प्रदर्शन गरेका थिए।