मुस्ताङ हिमपात : थप नौ जनाको शव भेटियो, ६९ जनाको उद्धार

0

हिमपातमा परी मुस्ताङमा हराइरहेका पर्यटकमध्ये थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। बिहीबार बिहान पाँच र दिउँसो चार जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए। ‘पाँच शव सेनाको हेलिकप्टरबाट मुक्तिनाथ ल्याइसकेका छौं,’ उनले भने, ‘थप चारको शव ल्याउने तयारी भइरहेको छ।’ बुधबार भेटिएका पाँच शव काठमाडौं पठाइसकिएको छ।

himpat

उद्दारका लागि गएको नेपाली सेनाको हेलिकप्टरसहितको टोलीले बिहीबार बिहान भेटाएको शवमध्ये दुई नेपाली, दुई इजरेली र एक पोल्यान्डको नागरिक भएको पुष्टि भएको छ। थप चार जना कुन देशका नागरिक हुन् भन्ने पुष्टि हुन सकेको छैन। डम्पक्याम्पभन्दा केही माथि शव भेटिएका हुन्।
यसैगरी लमजुङबाट किसानसंगीत नेपालीले जनाएअनुसार भारी हिमपातका कारण अलपत्र परेका ५ दर्जन बढीलाई मनाङका विभिन्न स्थानबाट उद्धार गरिएको छ। सोमबार रातिदेखि भारी हिमपात भएपछि मनाङका विभिन्न स्थानबाट स्वदेशी र विदेशी गरी ६९ जनाको उद्धार गरिएको हो।
बिहीबार बिहानैदेखि माथिल्लो मनाङ र तल्लो भेगबाट गरी अलपत्र परेकाहरूको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए। नार–फु उपत्यकाबाट मात्रै करिब २० जना, हिमलुङ आधार शिविरबाट २ जना र मनाङ, तिलिचो आधारशिविरलगायत क्षेत्रबाट पर्यटक तथा सहयोगीहरूको उद्धार गरिएको हो। विभिन्न कम्पनीका ५ हेलिकोप्टरमार्फत अलपत्र परेकाहरूको उद्धार गरिएको मनाङका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए।
सदरमुकाम चामेदेखि माथिका भ्राटाङ, तल्लो पिसाङ, घ्यारु, ङाबल, भ्राका, मनाङ, गुसाङ, याकखर्क, लेदार, थ्रोङ्फेदी र नार–फु उपत्यकाको मेता, धर्मशाला क्याम्पसाइट, झुनुप, च्याखु, क्याङ क्याम्पसाइट र फुलगायत स्थानमा पर्यटक र तिनका सहयोगीहरू अलपत्र परेको पनि डिएसपी रेग्मीले बताएका छन्।
अन्नपूर्ण चक्रीयमार्गमा घुमफिर गर्ने पर्यटकीय मौसम भएकाले अघिल्लो साता मात्रै पर्यटक र सहयोगी गरी झन्डै १५ सयजना मनाङतर्फ गएको पर्यटन सूचना केन्द्र बेसीसहरको तथ्यांकले देखाएको छ। गतसाता अक्टोबर ५ देखि ११ तारिखसम्म मात्रै विभिन्न एजेन्सी र कम्पनीमार्फत ५ सय ५० र व्यक्तिगत रूपमा ४ सय ४८ गरी कूल ९ सय ९८ पर्यटक र ६ सय नेपाली सहयोगी मनाङ गएको अभिलेख सूचना केन्द्रमा छ।
मनाङ जानेमा सबैभन्दा धेरै फ्रान्सका पर्यटक थिए। इजरेल, जर्मनी, बेलायत, अस्टे्रलिया, रसिया, चेक रिपब्लिक, पोल्यान्ड, नेदरल्यान्डलगायत पर्यटक पनि उल्लेख संख्यामा अन्नपूर्ण चक्रीयमार्गको भ्रमणमा गएको सूचना केन्द्रका कर्मचारी नन्दराज भट्टले बताए।
बेसीसहरबाट जीप यात्रापछि एक दिनमा मनाङ सदरमुकाम चामे र एकसातामा अन्नपूर्ण चक्रीयमार्गको उच्चतम बिन्दु मानिने ५ हजार ४ सय १६ मिटर उचाइको थ्रोङ्ला भञ्ज्याङको आधार शिविरमा पुगिने पनि भट्टले बताए। हुडहुड आँधीका कारण मनाङ र मुस्ताङको हिमपहिरो र हिमपातमा परेर मृत्यु हुने, बेपत्ता हुने र अलपत्र पर्नेहरूमा अधिकांश अघिल्लो साता बेसीसहरबाट मनाङतर्फ गएकाहरू रहेको अनुमान गरिएको छ।
त्यस्तै, यो साता आइतबारदेखि बिहीबारसम्म ३ सय ९७ जना विभिन्न कम्पनीमार्फत आएका पर्यटक र दुई सय ३५ व्यक्तिगत आएका गरी ६ सय ३२ जना पर्यटक र ३ सयको हाराहारीमा तिनका सहयोगी बेसीसहरबाट मनाङतर्फ गएका छन्। फु गाविसमा भएको हिमपातमा परेर मृत्यु भएका ७ जनाको भने उद्धार भइसकेको छ। मृत्यु हुनेमा ४ जना क्यानेडियन, २ जना नेपाली र १ जना भारतीय नागरिक रहेका थिए।
उद्धारमा खटिएको नेपाली सेनाले जनाएअनुसार थोरङङ्गपास र ड्रमक्याम्पबाट एक इजरेली नागरिकलाई जिवितै उद्धार गरिएको छ। ८ जनालाई मृत अवस्थामा फेला परेका छन्। मृतकमध्ये ६ जनाको सनाखत भइसकेको छ, जसमध्ये तीन नेपाली पुरुष, दुई इजरेली नागरिक (एक महिला, एक पुरुष) र एक पोल्यान्डकी महिला छिन्। बाँकी दुई मृतकको सनाखत हुन सकेको छैन। मुक्तिनाथ क्षेत्रमा फेला परेका पाँच शव ल्याइए पनि तीनवटा शव मौसमको खराबीले सो क्षेत्रबाट उठाउन नसकिएको सेनाले जनाएको छ।

From:  Nagariknews.com

Leave A Reply

Your email address will not be published.