अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी आक्रमण, २ जनाको मृत्यु, १५ घाइते

0

एजेन्सी : अस्ट्रियाको राजधानी भिएनाका विभिन्न छ स्थानमा आतंकवादी आक्रमण भएको छ । प्रहरीका अनुसार आक्रमणमा संग्लन एकजना र एक सुरक्षाकर्मीको आक्रमणमा मृत्यु भएको छ । अन्य पन्ध्र जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि रहेका छन् ।

आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुकसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाएका हुन । सो क्रममा प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको थियो ।

यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो । आक्रमणपछि स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न भनिएको छ । घटनापछि प्रहरीले प्रति–आतंकवादी कारबाही अघि बढाएको छ । आक्रमणमपछि भियनामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा घृणित आतंकवादी आक्रमण भनेका छन् । युरोपेली परिषद्का अध्यक्ष चाल्स मिशेल, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँन, नेदरल्याड्सका प्रधानमन्त्री मार्क रुटले आक्रमणको निन्दा गरेका छन् ।

जर्मन र इटालियन सरकारले युरोपमा देखिएको घृणाको विरोधमा अभिव्यक्ति दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै आक्रमण भएको हो ।

Leave A Reply

Your email address will not be published.