फेरि संकटमा नेकपा

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूहका नेताहरुलाई शनिबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । ब्रिफिङका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुनसक्ने चेतावनी दिएको बताएका छन् । 

प्रचण्डले बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बादललाई पार्टी गम्भीर संकटमा पुगेको बताएका थिए । यता, प्रधानमन्त्री ओलीले भने आफू निकटका नेताहरुलाई भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डले सरकारकै नेतृत्व दावी गरेका बताएका थिए । 
लगत्तै महासचिव बिष्णुप्रसाद पौडेलले नेकपा गम्भीर संकटको मोगमा पुगेको बताएका छन् । महासचिव पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत् नेकपाको एकता संकटमा पुगेका बताएका छन् । उनले नेता तथा कार्यकर्तालाई एकता प्रक्रिया कायम राख्नेगरी अगाडि बढ्न आग्रह समेत गरेका छन् । 

गएको भदौ २६ को स्थायी कमिटी बैठकबाट पार्टी विभाजन हुन नदिन नयाँ सहमतिका साथ अगाडि बढ्ने निर्णय गरेको थियो । तर, कर्णाली विवाद, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस जस्ता विवादले फेरि नेकपा अर्को भुमरीमा पर्ने खतरा बढेको छ । आइतबार दिनभर नेकपाका नेताहरुले दिएको अभिव्यक्ति र गतिविधि हेर्दा नेकपा एक नरहने चिन्ता बढेको छ । 

विशेषगरी कर्णाली प्रदेश विवादका कारण नेकपाको विवाद फेरि सतहमा आएको हो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव तयार भएपछि फरक दृष्य देखिएको नेकपा विवादको उत्कृर्षतिर अगाडि बढेको छ । त्यहाँको विवाद बढ्दै जाँदा नेकपा विभाजन हुने खतरा फेरि देखिएको छ ।

मुख्यमन्त्री शाहीको पक्षमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर छन् भने मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने यमलाल कँडेलको पक्षमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली छन् । 

नेपालले प्रचण्डलाई साथ दिएपछि शाहीको मुख्यमन्त्री पद जोगिएको थियो भने नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने शाहीले सहमति गरेका थिए । त्यसका लागि कँडेल समूहका दुई मन्त्रीलाई हटाउनुपर्ने हुन्छ । तर, ओलीले ती दुई मन्त्रीलाई हटाए प्रदेश सरकार बिघटन देखि पार्टी विभाजनसम्मको चेतावनी दिएपछि शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सकेका छैनन् । 

Leave A Reply

Your email address will not be published.