कुन-कुन पूर्वाधार विकास अघि बढाइदैछ

0

काठमाडौं, १३ साउन । लगानी बोर्डको १८ औँ बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ, बारा) निर्माणको काम सार्वजनिक–निजी साझेदारी वा अन्य कुन अवधारणाबाट अगाडि बढाउने भन्ने विषयमा परामर्शका लागि अर्थ मन्त्रालयको संयोजनमा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा सहयोग गर्दै आएको एसियाली विकास बैंकसँग छिट्टै संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशील कोइरालाको अध्यक्षतामा बसेको सो बैठकले नेपालमा सिमेन्ट कारखाना स्थापना गर्ने प्रयोजनार्थ चीनको होङ्सी ग्रुपलाई करिब रु ३६ खर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बोर्डले यसअघि नाइजेरियाको ड्याङ्गोटे ग्रुप र भारतको रिलायन्स इन्फ्रास्टक्चर कम्पनी लिमिटेडलाई नेपालमा छुट्टाछुट्टै सिमेन्ट कारखाना स्थापनाका लागि वैदेशिक लगानी स्वीकृति प्रदान गरिसकेको छ । साथै बैठकले तल्लो अरुण जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा विकास गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयललाई निर्देश गरेको बोर्डको कार्यालयद्वारा आज साँझ जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले बोर्डको कार्यलयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा एक समिति गठन गर्ने र उक्त समितिले पेस गरेको प्रतिवेदनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्बाट पारित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले बोर्डको आधिकारीक बेबसाइट डब्लुडब्लु डट आइविएन डट जिओभी डट एनपीको औपचारिक रुपमा शुभारम्भसमेत गर्नुभयो ।
बैठकको समापन गर्दै प्रधानमन्त्री कोइरालाले बोर्डको कार्यालय र क्षेत्रगत मन्त्रालयबीच भइरहेको समन्वय र सहकार्यको प्रंशसा गर्दै भावी दिनमा देश विकासका सन्दर्भमा यस किसिमको सहकार्यको निरन्तरताको कामनासमेत गर्नुभयो । बैठकमा बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले बोर्डअन्तर्गतका जलविद्युत् तथा अन्य पूर्वाधार परियोजनाको प्रगतिबारे अध्यावधिक गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.