भाकल पूरा भएपछि देवस्थलमा चर्पी

0

गौशाला, १२ साउन । मानिसले कुनै मठमन्दिर वा देवस्थलमा गरेको भाकल पूरा भएपछि प्रसाद वा बलि चढाउने गरेको देखिएको वा सुनिएको थियो । तर महोत्तरीको एक देवस्थलमा भाकल पूरा भएको भन्दै एकजनाले भने मन्दिरमा चर्पी निर्माण गरिदिएका छन् ।
बर्दिवास नगरपालिका–५ राईमण्डलपुरीस्थित इन्देश्वर महादेवस्थानमा तीन महिना पहिले आफ्नी छोरी रोगी भएर उनको स्वस्थताका लागि भाकल गरेका सर्लाही हरिवनका राजु श्रेष्ठले छोरीको रोग निको भएपछि सो देवस्थलमा चर्पी निर्माण गरेका छन् ।
देशमा विनाशकारी भूकम्प आएको बेला बर्दिवास–५ स्थित राईमण्डलपुरी भएर बग्ने भब्सी खोला किनारमा जनकपुरधाममा अवस्थित विश्वप्रसिद्ध जानकी मन्दिरको जस्तै स्वरुपहरु निर्मित भई स्थानीय तथा जिल्लावासीले सो ठाउँमा इन्देश्वर महादेव स्थापना गरी पूजाअर्चना गर्न थालेका छन् ।
सोही नयाँ देवस्थलमा मेला भर्न आएका राजु श्रेष्ठले बिरामी छोरीका लागि भाकल गरी गएका थिए भने छोरी निको भएपछि उनले सो स्थानमा चर्पी निर्माण गरेको स्थानीय श्याम लामाले बताउनुभयो ।
धार्मिकस्थल, मठमन्दिरवरपर खुल्ला दिसापिसाब गरेमा पाप लाग्छ भन्ने मान्यताका साथ श्रेष्ठले सो स्थानमा चर्पी बनाइदिएको स्थानीय रविन किंगरिंगले बताउनुभयो । राजुले सो स्थानमा चारवटा रिङ भएको चर्पी निर्माण गरेका छन् भने स्थानीयस्तरमा पाइने बेतबाँसले सो चर्पीको घेराबेरा लगाई माथिबाट टाली, खपटाले छाएका छन् ।

Leave A Reply

Your email address will not be published.