देश बिकासको नेपाली मोडेल बनाऊ

0
दीपक न्यौपाने , बेल्जियम

हामीसंग संगै बिकाशको यात्रा थालनी गर्ने मुलुक र हाम्रा राजनैतिक व्यक्तित्व हरुबाट बारम्बार सोही मुलुक जस्तै बनाउने सपना बाडेर आफ्नो सत्ता यात्रा बनाउदै गर्दा उक्त मुलुक आज आफ्नो देशको नागरिकलाई बयोमेट्रिक बिधिबाट कुनै परिचय पत्र बिना नै पहिचान स्थापित गर्ने बिधि अवलम्बन गरि बिश्वमा पहिलो हुने रेकर्ड राखिसक्यो, यता हामी भने धार्मिक जातीय अनि भौगोलिक भावनामा बगेर कुर्ची हानाहानमा छौ । अझ बिडम्बना त्यसको पक्ष र विपक्षमा सामाजिक संजालमा हामी एक अर्कामा हिलो छ्याप्दै छौँ ।

बिकाश भनेको निरन्तरताको क्रम भंगता नै हो बस त्यो बैज्ञानिक हुनु पर्यो । हामीले संघयीता स्वीकार गरे पछि सबै कुरा पहिला जस्तो नहोला , फेरि अहिलेको संरचना अनुसार अहिलेको प्रसाशनिक काम गार्हो भएर नै नयाँ व्यवस्था अवलम्बन गरेको हो , जुन कुरा हामी सबैले स्वीकार गर्नु पर्यो I राजधानीको नागरिक र दुर दराजको नागरिकले राज्यबाट पाउने सेवा सुबिधामा अपनत्व गर्न सकोस, त्यसको लागि हामी सबैले देशको भौगोलिक अवस्था अनुसार एक कदम पछि हट्नु परे पनि सहर्ष स्वीकार गर्नु पर्दछ ता कि देशको नागरिक हुनुमा सबै तह तप्काले गर्ब गर्न सक्ने र नागरिक को राज्य प्रतिको जिम्मेवारी बहन गर्ने क्षमतामा बिकाश होस ।

हामीले यो सात दशकमा धेरै संघर्ष र समय व्यवस्था परिबर्तनमा नै खर्च गर्यों सायद हामीले व्यवस्था परिबर्तन संगै आर्थिक परिबर्तनको लागि पाइला चालेको भए आज २१ औं सताब्दीमा पनि रोजी रोटिको लागि आफ्नो परिवार मात्रीभुमि छोडेर लागि विदेशको गल्लीमा भौतारिनु पर्दैन थियो होला . अझ त्यै बैदेशिक रोजगारको लागि आफ्नो जायजेथा बन्दकी राखेर आफ्ना बृद्ध बाबु आमाको काख, जीवन साथीको साथ, आफ्ना बाल बच्चाको अभिभावकत्वको जिम्मेवारीबाट टाढा रहेर आफ्नो जीवनको सबै भन्दा उर्जाशील समय बिदेशी मुलुकमा व्यतित गर्नु पर्दाको पिडा र त्यसको व्यक्तिगत एबं सामाजिक जीवनको दुरगामी असर सायद हामी कल्पना समेत गर्न सक्दैनौ ।

कति दिदि बहिनीको आफ्नो इज्जत मुम्बई र खाडीका घर कोठीमा बेच्न बाध्य बनाउने अझ केहि पैसाको लागि आफ्नो कोख ‘सेरोगेटेड मदर’को नाममा भाडामा दिनु पर्ने अवस्थामा पुग्नु भनेको पक्कै पनि हामीमा स्रोत साधनको अभाव होइन स्रोत साधनको असमान वितरण र विभेदित शैक्षिक नीति नै हो, यो असमान खाडलको मुद्दामा हामी हामी बिच फुट ल्याएर आफु संधै शक्तिको केन्द्रमा रहन रुचाउने व्यक्ति तह तप्कालाई पहिचान गरौँ । त्यसको निराकरणमा हामी सबै जिम्मेवार बनौं कसैको गोटी बनेर धार्मिक ,जातीय राजनैतिक आस्था र भौगोलिक भावनामा बगेर सार्बजनिक सम्पतिको तोडफोड गरेर क्षति पुर्याउनु भन्दा आफ्नो बिबेक प्रयोग गरौँ । आवस्यक छ भने तथ्य र प्रमाणका आधारमा बहस गरौँ, तर्क गरौँ, अबको यात्रा यो यसरी भनेर रोड म्याप बनाऊ त्यसको प्राप्तिको योजनामा समय खर्च गरौँ आन्दोलनको विकल्पमा हामी सधैँ बन्द हड्ताल टायर बाल्ने काम बन्द गरौँ ।

हामी धेरै टाढा पनि जानु परेन २०४७ पछिको परिबर्तनमा पनि धेरै अवसर गुमायौं २०६२/०६३ पनि संक्रमण र नयाँ संविधानको नाममा १५ बर्ष बिताउदै गर्दा पनि हामी अझै ढुंगामुडाको राजनीतिमा कति विश्वास गर्ने । मेरो गोरुको बाह्रै टक्का पनि भन्ने विकास र सम्बृद नेपालको परिकल्पना कसरी सम्भव होला ? हामी सबै आफ्नो आफ्नो क्षेत्र बाट जिम्मेवार बनेर जिम्मेवार नागरिकको परिचय हुन सकेमा देश बिकासको सुरुवात हुन्क्छ ।

सरकारले ऋण गरेर ल्याएको बजेट र , एनजिओ,आईएनजिओले हाम्रो बिकास गरिदिन्छन भनेर कल्पनामा रमाउनु नै हाम्रो दुर्गातिको कारण बनी रहेको छ , स्वालम्बी र दायित्वबोध भएको नागरिक, जन उत्तरदायी सरकार र बिकासको माटो सुहाउदो मोडेल हुन सके त्यो नै बिकासको लागि आधारशिला हुन्छ ।


लेखक गैर आवासीय नेपाली संघ बेल्जियमका सचिब हुन,

Leave A Reply

Your email address will not be published.