जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्षदेखि स्वास्थ्यकर्मीसम्म रहेको प्रहरीले जनाएको छ । ए जना खोलामा बगेर बेपत्ता भएका छन् ।
सदरमुकाम खलंगाबाट जुनीचाँदेको परालेका लागि हिँडेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे–१ औलखोलामा बुधबार दिउँसो दुर्घटना भएको हो । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, महेन्द्र माध्यामिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृतिबहादुर शाही, प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय खेमराज शाही र कृष्णबहादुर शाही रहेका छन् ।
यस्तै, अन्दाजी ३५ वर्षीया मालिका बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ । मृतकमध्ये एकजना पुरुषको सनाखत हुन बाँकी छ । जीप सडकबाट खोलामा खसेको घटनास्थलमा रहेको स्थानीय वासिन्दा रामबहादुर शाहीले बताए ।
उनका अनुसार दुर्घटनामा परेका लालबहादुर बुढा बेपत्ता छन् । दुर्घटनामा घाइते भएका नरबहादुर बुढालाई उपचारका लागि सुर्खेत लगिएको छ । घटनास्थलमा प्रहरी चौकी पञ्चाला, इलाका प्रहरी कार्यालय बडावनको टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश आचार्यको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।