काठमाडौं : डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।
डा. केसी को १९ औं आमरण अनशनको २४ औं दिन पुगिसक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा बिहीबार दुई घण्टा र शुक्रबार पूरै दिन आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने उल्लेख गरिएको छ । संघले असोज २२ गते बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार पनि गर्ने भएको छ ।
त्यस्तै संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैै धर्ना गर्ने निर्णय समेत गरेको छ । संघले नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै बेला वार्ताका निम्ती सहजीकरण गर्न समेत तयार रहेको बताएको छ ।