चीनको वुहानमा जनजीवन सामान्य बन्दै, पूर्ववत रुपमा आन्तरिक उडानहरू शुरू

0

एजेन्सी : कोरोना भाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको वुहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरू सुरू भएको छ । वुहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलवाट गत शुक्रबार एकै दिन पाँच सय वटा आन्तरिक उडानबाट ६४ हजार सात सय यात्रुले सेवा लिएका छन् ।

विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरू गर्न लागिएको छ । अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर तथा आम्स्र्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा सुरू भइसकेका छन् ।

गत अप्रिल महिनाको सुरूमा आंशिक खुला भएको वुहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन । वुहानमा गत वर्षको अन्त्यतिर कोरोना भाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए ।

त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पताल निर्माण गरिएको थियो ।

चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरू अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

चिनियाँ अस्पतालमा हाल १ सय ५१ जनाको उपचार भइरहेको छ । ३ सय ५७ जनालाई आइसोलेसनमा राखिएको छ। चीनमा कोरोनाबाट ८५ हजार १ सय ८४ जना संक्रमित भएका थिए । त्यसमध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.