भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको दोस्रो स्थानमा, संक्रमित ४२ लाख नाघे

0

एजेन्सी : विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकापछि भारतमा धेरै भएको छ । यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा भारतले उसलाई उछिनेको हो ।

अहिले भारतमा संक्रमित हुनेको संख्या ४२ लाख पुगेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । गएको २४ घण्टामा ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन १ हजार ८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

यसरी भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै भारतमा कोरोनाबाट ज्यान जानेको कुल संख्या ७१ हजार ६ सय ८७ पुगेको छ । भारतमा ३२ लाख ४७ हजार २ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ८ लाख ८३ हजार ५ सय ७८ जना उपचाररत छन् ।

देशको जनसंख्याको हिसाबले कोरोनाका कारण मानिसको मृत्यु हुने संख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ । तीव्र गतिमा भाइरसको संक्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि अवस्था थप भयाभह हुने देखिएको छ ।

पछिल्लो समय राजधानी दिल्लीमा पनि संक्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । सरकारले व्यापार र यातायात पुनः खोल्दै गर्दा सङक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढीमा संक्रमण देखिएको छ । तेस्रो स्थानको ब्राजिलमा ४१ लाख भन्दा बढी संक्रमित छन् ।

Leave A Reply

Your email address will not be published.