सभासद्माथि आक्रमणको छानबिन गर्न माग

0

काठमाडौं, ७ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङसँग समय लिई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ संविधानको मस्यौदामाथि सर्वसाधारण नागरिकले सुझाव दिने समयावधि कम भएकामा आपत्ति जनाउँदै वर्षात्याम र धान रोपाइँमा व्यस्त हुन परेका नागरिकले सुझाव दिन नभ्याएको भनी ध्यानाकर्षण गराउनुभयो ।
सांसद गिरीले मस्यौदामाथि सुझाव लिन मकवानपुरको हेटौँडामा जाँदा यही साउन ५ गते आफ्ना पार्टी अध्यक्ष कमल थापा, सांसद गणेश थापा र पार्टीका मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्टमाथि भएको साङ्घातिक आक्रमणप्रति आपत्ति जनाउनुभयो ।
साथै घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही नभएसम्म सदन चल्न नसक्ने उहाँले बताउनुभयो । प्रमुख सचेतक गिरीले सो धारणा राखिरहँदा सभामुख नेम्वाङले व्यवस्थापिका–संसद््मा संविधानसभाको कुरा उठान गर्न नपाइने र संविधानसभामा व्यवस्थापिकाका कुरा उठान गर्न नपाईने कार्यविधि रहेको ध्यानाकर्षण गराउनुभएको थियो ।
सभामुख नेम्वाङले सो घटनाका बारेमा संसद्को अर्काे बैठकमा यथार्थ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
संसद्को आजको बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘राष्ट्रिय युवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२’ सदनमा पेस गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही साउन १० गते आइतबार अपराह्न ३ बजे बस्नेछ ।

Leave A Reply

Your email address will not be published.