सुझाव समेटेर संविधान : ओली

0

पोखरा, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका उपयुक्त सुझावलाई समेटेर नयाँ संविधान जारी गरिने बताउनुभएको छ । एमाले कास्कीको प्रतिनिधि परिषदको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै नेता ओलीले जनताबाट आएका सुझावलाई संविधानमा समावेश गरिँदैन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले नयाँ संविधान कुनै दलविशेषका नेतालाई नभई देश र जनतालाई चाहिएको हो भन्नुभयो ।
संविधान जारी भएपछि संविधानसभा भने कायम नरहने जिकिर गर्दै उहाँले त्यसपछि काम संविधानमा उल्लेख भएबमोजिमका नियम र विधिअनुसार हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले नै प्रदेशको नामाङ्कन र सीमाङ्कन टुङ्ग्याउनतिर लाग्ने हो भने फेरि पनि संविधान नबन्न सक्छ, त्यसैले यी विवादको टुङ्गो सङ्घीय आयोगले लगाउने छ र संविधानमा समावेश गरिन्छ । ” संविधान जारी भएपपछि नयाँ सरकार गठन हुने र सोको ध्यान भूकम्पबाट क्षतविक्षत भएको मुलुुकको पुनःनिर्माणमा केन्द्रित हुने अध्यक्ष ओलीको भनाइ थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले कसैको बुई चढेर असफल बनाउने प्रयास गरे पनि अब संविधान निर्माणको काममा कसैले अवरोध गर्न सक्दैन भन्नुभयो । उहाँले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन संसद्मा प्रस्ताव दर्ता गरिएको तथा स्वास्थ्य बिमा र जनसङ्ख्या ऐन ल्याइसकिएको जानकारी दिनुभयो । कार्यक्रममा पार्टी निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, लेखा परीक्षण आयोगका अध्यक्ष पुष्प कँडेल र उपाध्यक्ष मनबहादुर गुरुङलेलगायतले धारणा राख्नुभएको थियो । सो अवसरमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.