पहिरोको डर भएपछि टहरो छाड्दै भूकम्पपीडित

0

चिटिक्क परेको दुईतले घर भूकम्पले भत्काएपछि लापु गाविस–५ का नरबहादुर गुरुङका दुःखका दिनहरु सुरु भयो । वैशाखदेखि जेठ मसान्तसम्म त्रिपालमुनि बस्दै आउनुभएका गुरुङको परिवारले असार लागेसंँगै टहरो छाउने जस्तापाता हात पार्नुभएको थियो । बर्खाले छोपिसकेपछि जस्तापाता पाएकाले गुरुङको परिवारले टहरो छाउन सकेका थिएनन् ।
“भत्केको घरको काठपात जम्मा गरेर टहरो बनाएँ,” उहाँले भन्नुभयो – “जस्तापाताले टहरो छाएर आनन्दसँग बसौंला भनेको घरमाथिको डाँडो पहिरियो । परिवार लिएर अन्यत्रै बस्न हिड्यौँ ।” गुरुङको परिवारमात्रै होइन, लापु गाविस–६ र गुम्दा गाविस–५ को खानीबेँसीमा बस्दै आएका २५ घरपरिवारका स्थानीय भूकम्पपीडित गाउँ नै छाडेर अन्यत्र बस्न गएका छन् ।
अहिले घरपालुवा पशुचौपायालाई जङ्गलतिर पठाएर गाउँले सद्दे जमिन खोज्न हिँडेका छन् । खानीगाउँका सात परिवार भने भाडामा बस्नेगरी सदरमुकाम झरेका छन् । “सात परिवारका मानिसहरु सदरमुकामको पस्लाङ गाउँमा बस्न भन्दै गए,” लापु गाविसका पूर्व गाविस अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो – “कोही आफन्तकहाँ गएका छन् । कोही पोखरा गए । कोही आरुघाट झरेका छन् ।” धेरैजसो गाउँले गाउँ नजिकैको खर्कमा बस्दै आएका छन् ।
“पहिरोले गाउँमा बस्न सकिएन,” गुरुङले भन्नुभयो – “माथिबाट पहिरो झर्ने डर छ । तलको बूढीगण्डकी कहिले थुनिने, कहिले खोलिने, त्यो अर्को भय ।” भूकम्पपछि छियाछिया भएको जमिनमा बस्ती बसाल्न नमिल्ने भन्दै भूगर्भविद् र इञ्जिनियरको टोलीको सुझावमा जिल्ला दैवी प्रकोप उद्धार समितिले खानीगाउँलाई अन्यत्र सार्ने निर्णय गरेको थियो । तर, गाउँलेलाई अन्यत्र सार्ने प्रक्रियामा ढिलाइ हुँदा गाउँलेले आफँै गाउँ छाडेका हुन् ।
पहिरोको अति जोखिममा बसोबास गर्ने भूकम्पपीडितलाई १५ दिनभित्र अस्थायी आवास प्रबन्धको व्यवस्था गरी सार्न गत असार १५ गते सरकारले निर्देशन दिएको थियो । तर, गोरखाका भूकम्पपीडित, पहिरोपीडित ४२ बस्तीका स्थानीयवासीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले अन्यत्र सारेको छैन । बस्ती सार्न आवश्यक प्रक्रियाहरु सुरु गरिए पनि मध्य बर्खाका कारण स्थानीयवासीलाई अन्यत्र सार्न नसकिएको समितिले जनाएको छ । आफ्नै इच्छाअनुसार गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएकाहरुबाहेक अरुलाई समितिले बस्ती सार्न नसकेको हो ।
बूढीगण्डकी कटानले थुमी गाविस–६ को सोतीबजार उच्च जोखिममा छ । उर्लेको बूढीगण्डकीको भेल बजारभित्र छिर्ने डरले स्थानीयवासी नजिकैको जङ्गलमा दिनरात काटिरहेका छन् । केहीदिनअघिदेखि उर्लेको बूढीगण्डकीले सोतीबजारको पुछारबजारमा तीव्र कटान गरेको छ । सोतीबजारबाट विस्थापित भएका ३३ घरपरिवार अहिले केओरपानी र भलाकस्वाँरामा सरेका छन् । यो जङ्गल क्षेत्र हो ।
साथै सौरपानी– ८ रञ्चोकका भूकम्पपीडितको परिवार अहिले पनि खेतमा बास बसिरहेको छ । भूकम्पपीडितले खेतमा टहरो बनाएर बसेपछि खेत रोप्न नपाएर धानको बीउ बुढेको छ । अन्यत्र बस्ने ठाउँ नभेटाएपछि भूकम्पपीडितले बस्ती नजिकैको टारी खेतमा टहरो बनाई बसेका हुन् । भूकम्पपीडित कमली गुरुङ भन्नुहुन्छ – “खेत छाडेर अन्यत्र जाने ठाउँ कतै छैन । सरकारले हेरेन । बरु साहुलाई खेतमा फल्ने धानबराबरको पैसा गाउँले मिलेर उठाएर तिर्नुपर्छ ।” उक्त खेतमा ५० परिवारको बसोबास छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले गोरखाका १८ गाविसका ४२ बस्तीका दुई हजार ३३१ घरधुरी सुरक्षित स्थानमा सार्न सिफारिस गरेको थियो । लाप्राक गाउँका ५९२ घरधुरी वैशाख १३ गतेदेखि नै गुप्सीपाखा, नम्पै, रिञ्चिलुङ र स्याङ्राचेमा सरेका छन् । केरौँजाको वडा नं १, २ र ४ ठूलो गाउँको चारसय घरधुरी सोही गाविसको गन्चुडुङ्गंग, औलचो, क्यूडेन, गुवानडाँडामा र केरौँजाबेँसीका ४८ घरधुरी सोही गाविसको मम्चेतमा सरेका छन् । त्यस्तै, पहिरोले गाउँ नै पुरिएपछि गुम्दाको माछाखोला पनि लप्सीबोटमा सरेको स्थानीयवासी धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
भूकम्पको केन्द्रबिन्दु बारपाक– २ मान्द्रे गाउँ पनि नजिकैको ल्यार्बेमा सरेको छ । बारपाककै कोंजे आलगंगमा, कामीगाउँ पशु तथा कृषि कार्यालयको जग्गामा सरेको स्थानीयवासी बताउँछन् । लापु गाविसको पैटु गाउँको १२ घरधुरी लिकुचेतमा, भिरकुनाका १५७ घरधुरी खुखुपुकमा, खानीगाउँ पूर्वी भेगमा र ठाटी गाउँका १७ घरधुरीलाई देउराली खर्कमा सरेका छन् ।
त्यस्तै, गुम्दाको सिङ्ला गाउँका ७० घरधुरी सोही गाउँको पँधेरो वरिपरि सरेका छन् । माछाखोला, खानीबेँसी र लप्सीबोटका १६१ घरधुरीका बासिन्दा लप्सीबोटको माथिल्लो गाउँमा सरेका छन् भने गुम्दा गाविस– ४ को यामगाउँका भूकम्पपीडित तल्लो क्षेत्रमा सरेका छन् ।
सौरपानी– ८ झोलुङ्गे गाउँका २५ घरका बासिन्दा वैशाख १३ गतेदेखि नै सिम्जुङ– ९ बालुवा बजार नजिकै बसेका छन् । केवराका ८२ घरधुरी पनि आसपासका क्षेत्रमा वैशाख १३ गतेदेखि नै सरिसकेका हुन् । घ्याच्चोक चिसाङका १३ घर र कामीगाउँका सात घर बीचगाउँमा सरिसकेका थिए । यसअघि बस्ती स्थानान्तरण योजना उपसमितिले मान्बु गाविसको श्यामचेत गाउँका १५० घरधुरीलाई सोही गाविसको फेउरामा, धोरेतका ४५ घरधुरीलाई तिल्चेत खर्कमा, ठोट्नेरी र छापागाउँका ३८ घरधुरीलाई पनि फेउरागाउँमा तथा पात्लेका ५६ धुरीलाई पात्लेमाथिको डाँडामा सार्ने निर्णय गरेको थियो ।
त्यस्तै, सौरपानीको शिम्भु गाउँका ५२ घरधुरीलाई भण्डारीगाउँ आसपास सार्ने निर्णय समितिले गरेको छ । सिर्दिवास गाविसको सिर्दिवास, घट्टेखोलाका ४४ घरधुरीलाई फिलिममा सार्ने निर्णय भएको छ । आँगा, चिसापानी र एक्लेभट्टी र निगालाघारीका ६० घरधुरीलाई फिलिममा सार्ने निर्णय भएको थियो ।
आरुआर्बाङ गाविसको आर्बाङ र पाखुरे गाउँका ६० घरधुरीलाई चिहानडाँडामा सार्ने, थुमी गाविसको चिनीखोपका १६ घरधुरीलाई सालघारी र रानीवन क्षेत्रमा सार्ने निर्णय गरिएको थियो । त्यस्तै मनकामना गाविसको उम्लुङ गाउँका २२ घरधुरीलाई डाँडागाउँमा सार्ने, हंशपुर गाविसको बगुवा गाउँका १३ घरधुरीलाई गाविस कार्यालय नजिक सार्ने, केराबारीको बालकीस्थान, ढाँड, गुराँसपानी, पोखरा बिरौटा गाउँका २५ घरधुरी आसपासका नौ बन क्षेत्र सार्ने निर्णय गरिएको थियो ।
मुच्चोक गाविसको दलितबस्तीका ३० घरलाई डाँडागाउँमा बस्ती स्थानान्तरण गरेपछि पूर्वाधार तयार गर्न व्यवस्थापन खर्चबापत रु २१ करोड ६४ लाख ८९ खर्च लाग्ने जनाएको थियो । सो खर्च जुटाइदिन सरकारसमक्ष माग पनि गरेको थियो । तर आफँै सरेकाबाहेक अहिलेसम्म सरकारी पहलमा कुनै पनि गाउँ स्थानान्तरण नभएको भूकम्पपीडितले जनाएका छन् ।
मध्यबर्खाका कारण बस्ती सार्न नसकिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले बताउनुभयो । “घर सारेरमात्रै भएन,” प्रजिअ तिमल्सेनाले भन्नुभयो – “खानेपानी, बत्ती, विद्यालय, स्वास्थ्य चौकी, शौचालयलगायत पूर्वाधार खडा गर्नुपर्छ । त्यो पूर्वाधार खडा गर्न ठूलो चुनौती छ ।” सरकारले मध्यबर्खामा असार १६ गते निर्देशन दिएको भन्दै उहाँले कार्यान्वयनका लागि प्रयास भइरहेको बताउनुभयो ।
– प्रशन्न पोखरेल

Leave A Reply

Your email address will not be published.