ओली-दाहाल भेटवार्ता जारी, कार्यदलको प्रतिवेदनमाथि छलफल

0

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अध्यक्षद्धयबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भैरहेको बुझिएको छ ।

कार्यदलले शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमाथि सुरुमा अध्यक्षद्वयले छलफल गरी सकेपछि सचिवालय हुँदै स्थायी कमिटीमा पेश गर्ने बताइएको छ ।

कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्रीको राजीनाको मागलाई थाँती राख्न र अन्य विवादलाई सैद्धान्तिक भन्दै महाधिवेशनबाट टुंगो लगाउन सुझाव दिइएको छ । प्रतिवेदनमा सरकारको नेतृत्व ओली र पार्टी संचालन प्रचण्डले गर्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा दुवै अध्यक्षले सरकार र पार्टी सहकार्य र समन्वयका आधारमा संचालन गर्ने तथा मंसिर चार गतेको सहमतिलाई स्पष्ट गर्दै दुवै अध्यक्षको कार्यविभाजनलाई ठोस रुपमा परिभाषित गरिएको छ ।

गत साउन ३० गते गठित कार्यदलले ८ दिन लगाएर प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा पार्टीको एकता प्रक्रिया, पार्टीको संस्थागत परिचालन, दुई जना अध्यक्षको अधिकार र सीमा, पार्टीको एकताको बाँकी कामको टुंगो, एकता महाधिवेशन र त्यसले गर्नुपर्ने काम, सरकारको कामलाई प्रभावकारी बनाउने आधारका बारेमा सुझाव दिइएको छ ।

यसैगरी कार्यदलले मन्त्रिपरिषद पुर्नगठन गर्न सुझाव समेत दिइएको छ । कार्यदलले प्रतिवेदन बुझाएसँगै असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा बोल्न अधिकांश सदस्यले माग गरेको प्रधानमन्त्रीको राजीनामाको विषय समाप्त भएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले दुई मध्ये एक पदबाट राजीनामा दिनुपर्ने बहुमत सदस्यले धारणा राखेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेका थिए ।

यो बीचमा विवाद समाधानका लागि भन्दै अध्यक्षद्वयबीच विभिन्न चरणमा छलफल भएपनि निष्कर्ष निस्किने सकेको थिएन । पछि विवाद समाधानको खाका पेश गर्न भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो ।

Leave A Reply

Your email address will not be published.