सरकारलाई कांग्रेसकाे प्रश्न: रेमिटेन्स पठाउने अन्नदातालाई ‘वर्ग शत्रु’को व्यवहार किन?

0

काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका वैदेशिक रोजगारीमा गएका नेपालीहरुको उद्धारमा सरकारले देखाएको उदासिनता तथा जिम्मेवारी बिहीन व्यवहारप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

सर्वोच्च अदालतले गएको असार १ मा ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो।

सो आदेश कार्यान्वयन गर्न कुनै तदारुकता नदेखाएको सरकारले दुई महिनापछि पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च श्रमिकले नै बेहोर्नु पर्ने व्यवस्था गरेर पीडामाथि पीडा थप्न लागेको भन्दै कांग्रेसले दुःख व्यक्त गरेको हो।

अप्ठ्यारोमा परेकालाई प्रवासी नेपालीहरुलाई सरकारले स्नेह र सहाराको हात दिनु पर्ने भनि लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष माग गरिएको स्मरण गर्दै कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी सार्वजनिक रुपमा सोही माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज पुनः सार्वजनिक रुपले त्यही माग र आग्रह दोहोर्‍याउँदै प्रश्न गर्न चाहन्छौँ—६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नु कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’

मन्त्रीपरिषदको पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाईटको अनुमति दिने निर्णय गरेको थियो । उद्वारमा सरकारको यो कछुवा गतिले विदेशमा पीडामा रहेका नेपालीको मर्म बुझेको नदेखिएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारले गरेको पछिल्लो निर्णयले विदेशमा असजिलोमा परेका नेपालीप्रति कुनै मानवीय भावना नै नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले विदेशमा अप्ठ्याराेमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्वारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ । एक त चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टिनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पीसिआर परीक्षण पनि आफै गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने । अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार?’

रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट व्यवस्था गरेर निःशुल्क उद्वार गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । यस सम्बन्धमा सर्वोच्चको आदेश पालना गर्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ ।

Leave A Reply

Your email address will not be published.