कोरोना कहरबीच आर्थिक गतिविधिलाई गति दिने सरकारको नीति, अब पूर्ण लकडाउन नहुने

0

काठमाण्डौ – देशका शहरी भागमा कोरोना भाइरसको महामारी फैलिइरहेपनि सरकार लकडाउन गरेर आर्थिक गतिविधिलाई असर नपार्ने पक्षमा दृढ देखिएको छ । सरकारले स्वास्थ्य जीवन र आर्थिक जीवनलाई सन्तुलित ढंगबाट बढाउने नीति लिने भएको छ । आर्थिक रुपमा स्वास फेर्न नहुने अवस्था आउन नदिने गरी कोरोना जोखिमसँग जुध्दै आर्थिक गतिविधिलाई गति दिने सरकारको नीति सार्वजनिक भएको छ ।

हिजो सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले मानिसले पेट पनि पाल्नुपर्ने भएकाले लकडाउन नै समस्याको समाधान नभएको बताए । उनले भने, ‘लकडाउन नै समस्याको समाधान होइन, स्वास्थ्य जीवन र आर्थिक जीवनलाई सन्तुलित ढंगबाट अगाडि बढ्नुपर्छ ।’ उनले लकडाउनको विधिमा जाने पक्षमा सरकार नरहेको स्पष्ट पारे । तर, स्थानीय प्रशासनले आवश्यक पर्दा बन्दाबन्दी गर्न सक्ने बताए । उनले भने, त्रसित भएर पूर्ण लकडाउन हुन्छ भन्नुपर्ने अवस्था छैन ।

मन्त्री खतिवडाले अरु रोगभन्दा कम मान्छेको मृत्यु भएको तथ्यांक समेत आएको खुलाए । मानिसहरुको मृत्यु भएकामध्ये ५० वटा रोगमध्ये कोरोना ५० औं नम्बरमा रहेको तथ्यांक समेत आएको सुनाए । कोभिड १९ को जोखिम अन्यभन्दा कम भएको उनको आशय थियो । रोकथामका लागि सरकारले अब लकडाउन नगर्ने र आर्थिक गतिविधि चलायमान हुन दिने सरकारको नीति स्पष्ट पारे ।

देशभर कोरोना भाइरसबाट प्रतिदिन मृत्यु हुनेको संख्या थपिइरहँदा सरकारको पछिल्लो धारणा सार्वजनिक भएको हो । तर, उनले छनोटपूर्ण ढंगले आवश्यक परेको स्थानमा लकडाउन गरिने बताए ।

सरकारले १ भदौबाट लामो दुरीको यातायात सञ्चालनमा भने पुर्नविचार गर्ने संकेत गरेको छ । राजधानीमा कोरोनाको जोखिम बढिरहँदा उनको भनाई बाहिर आएको हो । वायुसेवा सञ्चालनको विषयमा पनि सरकार विचार गर्ने अवस्थामा पुगेको छ । तर, आर्थिक गतिविधि चलाउनुपर्ने भएकाले यो अब सुचारु गरिने संकेत गरे ।

१ भदौबाट विद्यालय भर्ना शुरु गर्ने भनिएपनि पठनपाठन विद्यालयमै गरिहाल्ने निर्णयमा सरकार पुगेको छैन । तत्काल यो निर्णयमा पुगिनहाल्ने बताएसँगै दशैंयता विद्यालय खुल्ने देखिदैन । सरकार तत्काल केही विषयमा उदार नबनिहाल्ने स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.