नेकपा विवाद: प्रचण्डले आफ्नैबाट धोका पाएको निष्कर्ष

0

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विश्वास गर्दा आफ्नैबाट धोका पाएको विषय निकटस्थहरुसँग राखेका छन् । उनले पछिल्लोपटक भएको पूर्व माओवादी पक्षीय भेलामा यस्तो गुनासो गरेका हुन् ।

जनयुद्धका बेलामा पनि यस्तै धोका पाएको र संसदीय गतिविधिमा आएपछि झन् यो क्रम बढेको उनको निष्कर्ष थियो । प्रचण्डले सबैभन्दा गुनासो लेखराज भट्टको विषयमा गरेका छन् । भट्ट प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका छन् । उनी प्रचण्डपक्षीय भेलामा सहभाग हुन छाडेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलप्रति पनि प्रचण्डले गुनासो गरेका छन् । विश्वस्त स्रोतका अनुसार प्रचण्डले बादललाई गृहमन्त्री बनाउन निकै संघर्ष गरेको सुनाएका थिए । तर, पछिल्लो समय बादल टाढिन थालेको उनको गुनासो थियो । बादल पनि पूर्व माओवादीको आन्तरिक भेलामा सहभागी हुन छाडेका छन् ।

बादल समुहले पछिल्लो समय छुट्टै भेला गर्न थालेको छ । उनले गुट ब्युँताउन खोजेको चर्चा चलेको छ । प्रचण्डले विगतमा माओवादी फुटाएर फेरि फर्किएकाहरुलाई निकै महत्व दिएकोबारे पनि उनी निकटस्थहरुमा छलफल चल्न थालेको छ । बादललाई गृहमन्त्री, मातृका यादवलाई आपूर्तिमन्त्री र देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतक बनाएका थिए । यसप्रति उनकै निकटस्थहरु असन्तुष्ट भएका थिए । मातृकालाई सरकारबाट ब्याक गरेर लेखराज भट्टलाई प्रचण्डले पठाएका थिए । तर, भट्टको शैलीप्रति प्रचण्ड निकै असन्तुष्ट रहेको बुझिएको छ ।

प्रचण्डलाई परिवार र शुभचिन्तकहरुले छिट्टै विश्वास गरिहाल्ने स्वभावमा परिवर्तन ल्याउन समेत सुझाव दिएका छन् । उनले केपी शर्मा ओलीप्रति निकै विश्वास गर्दा अहिले पेलाई भोग्नुपरेको विश्लेषण माओवादीभित्र हुनथालेको छ । ओलीसँगको कतिपय भित्री समझदारी यताउता हुँदा प्रचण्ड छटपटिएका छन् ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइरहँदा प्रचण्डले आफ्नैबाट साथ नपाइरहेको महशुश भइरहँदा आन्तरिक समिक्षा हुनथालेको छ । खुमलटारमा हुनेगरेको समिक्षामा यस्तो समयमा साथ नदिनेलाई उचित समयमा उचित तरिकाले पाठ सिकाउनुपर्ने सम्मको छलफल चलेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.