नेकपा विवाद : आफ्नैबाट हैरान प्रचण्ड, सुरक्षित अवतरण गर्ने मूडमा

0

काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद र शक्ति संघर्ष अहिलेसम्म निकासको नजिक पुगेको मान्न सकिने कुनै लक्षण देखिएको छैन ।

पछिल्लो समयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै समूहका नेताहरूबाट हैरानीमा पर्दै गएको र प्र्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको विवादको सुरक्षीत अवतरण गर्नुपर्ने मूडमा पुगेका छन् ।

खुमलटार निकट स्रोतका अनुसार अहिलेको नेकपाको आन्तरिक विवादमा कार्यकारी अध्यक्ष प्रचण्डलाई ओली सरकारका दुई मन्त्रीहरु वर्षमान पुन अनन्त र शक्ति बस्नेतसहित नेताहरू जनार्दन शर्मा, पम्फा भूसाल, लीलामणि पोखरेल र देव गुरुङले मात्रै खुलेर समर्थन गरेका छन् ।

असार १३ गते मंगलबारका लागि निर्धारित स्थायी कमिटीको बैठक पार्टीको शीर्ष तहमा सहमति नभई चल्न नहुने भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि एकतर्फी रूपमा स्थगित गरे । मंगलबार बिहान मात्रै आफ्नै निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको समूहसँग छुट्टै छलफल गरेर स्थायी कमिटी बैठक नरोक्ने समभ्mदारी गरेका कार्यकारी अध्यक्ष प्रचण्डको अडान ३ घण्टा पनि टिक्न सकेन ।

प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा पार्टीको स्थायी कमिटी बैठक रोकेपछि आक्रोशित बनेका कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटेपछि स्थायी कमिटीको बैठक त अगाडि बढाए, तर यसलाई स्थायी कमिटीको बैठक नभई अनौपचारिक छलफल मात्रै भएको बताए । यसलाई केही घण्टा अगाडि मात्रै आफ्नै निवासमा नेपाल समूहसँग गरेको सहमतिबाट प्रचण्ड पछि हटेको अर्थमा नेपाल पक्षका नेताहरुले बुझे ।

प्रचण्ड–नेपाल समूहको बालुवाटारको सोही छलफललाई स्थायी कमिटीको बैठक भन्ने कि समूहको भेला भन्नेमा ठूलो मतान्तर बन्यो । बैठकले ओलीसँग प्रचण्डले छलफल गर्ने निर्णय गरेको सार्वजनिक गरियो र स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरियो अर्थात् ओलीले एकतर्फी स्थगित गरेको स्थायी कमिटी बैठकलाई प्रचण्ड–नेपाल समूहले पनि स्थगित गरेर ओलीको निर्णयलाई नै वैधानिकता दियो । यसरी शीर्ष तहमा सहमति बिना बैठक सञ्चालन नगर्ने ओलीको अडानलाई नै प्रचण्डले नेपाल समूह समेतको भेलामा स्वीकार गर्न लगाएको ओली समूहका नेताहरूको बुझाई छ ।

आफ्नो साथै नेपाल समूहसँगको बालुवाटार भेलामा अध्यक्ष प्रचण्डले ‘यसलाई स्थायी कमिटीको बैठकको निरन्तरता नभएर बहुमत सदस्यको भेला भनौं’ भनेपछि नेपाल समूहका अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल लगायतका नेताले स्थायी कमिटीको बैठक नै भन्नुपर्ने अडान राखेपनि पूर्वमाओवादी केन्द्रका समूहका कुनैपनि स्थायी कमिटी सदस्यले उक्त बैठकलाई स्थायी कमिटी बैठक हुनुपर्छ भनेर एक शब्द उच्चारण गरेनन् ।

पार्टीमा स्पष्ट बहुमत भएको भनेर प्रचण्ड–नेपाल पक्षले प्रचार गरेपनि त्यो समूहभित्र अध्यक्ष प्रचण्डको शक्ति भने कमजोर देखिएको छ । वरिष्ठ नेता नेपालको समूहमा सक्रिय भएर राजनीतिक भविष्य सुरक्षित गर्न र फाइदा लिन सकिनेमा प्रचण्ड सशंकित देखिएको स्रोतले जनाएको छ । नेकपाभित्र पूर्वमाओवादी केन्द्र पक्षधर छिन्नभिन्न भएपछि अध्यक्ष प्रचण्ड ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन हच्किएको विश्लेषण नेकपाभित्र छ ।

पूर्वमाओवादी केन्द्र पक्षधरमै ४ जना नेता स्पष्ट रुपमा प्रधानमन्त्री ओली समूहतिर गएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा मंगलबारको बालुवाटार भेलामा सहभागी भएनन् भने सम्पर्कमा समेत आएनन् । उनीहरुको पक्षमा नेकपामा ठुलो समूह छ ।

प्रचण्ड पक्षधरकै नेता हरेका प्रवक्ता नारायणकाजी श्रेष्ठ, गणेश शाह, मातृका यादव र गिरिराजमणि पोखरेल पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल समूहतिर नजिक छन् । प्रचण्ड र नेपालबीच अन्तरसंघर्ष हुँदा यी नेताबाट प्रचण्डले साथ पाउने सम्भावना भएको नेपाल पक्षको बुझाई छ । प्रचण्ड र नेपाल सँगसँगै हुँदा भने यी नेताहरू ओलीविरुद्ध देखिएका छन् ।

प्रचण्डका अत्यन्तै विश्वासपात्र मानिने नेताहरु हरिबोल गजुरेल र चक्रपाणि खनाल ‘बलदेव’ समेत प्रचण्डसँग सन्तुष्ट छैनन्् । भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिबाट ल्याइएका अर्का नेता देवेन्द्र पौडेल ‘सुनिल’ पछिल्लो समयमा आफूले भनेको कुरा र सुझाव सुन्न र मान्न छाडेको गुनासो प्रचण्डले निकटतस्थहरुसँग गुनासो गर्न थालेका छन् । उनीहरु प्रधानमन्त्री ओलीसँग नजिक रहेका नेता लेखराज भट्टसँग निरन्तर छलफलमा छन् ।

नेता गजुरेलले नेकपाका अध्यक्ष प्रचण्डले आफूले दिएको सुझाव प्रचण्डले नमान्दा नेकपामा यो अवस्था भएको बताए । उनले उक्त सुझाव उपयुक्त समयमा सार्वजनिक गर्ने बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेता गजुरेलले प्रचण्डप्रति असन्तुष्टि व्यक्त गर्दै आएका गजुरेलले प्रचण्ड नमज्जासँग घेराबन्दीमा पर्दै गएको बताउंदै आएका छन् ।
प्रचण्डलाई केही सीमित व्यक्तिले घेराबन्दीमा पार्ने काम गरेको, उक्साउने काम गरिरहेको उनको आरोप छ । सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा समेत उनले आफूलाई प्रचण्डले अविश्वास गरेको बताएका थिए ।

नेकपका तत्कालीन स्थायी कमिटी सदस्य अग्नि सापकोटा सभामुख भएकाले पार्टी राजनीतिमा सक्रिय साथ दिन पाउँदैनन् । सापकोटा प्रचण्डका लागि दाहिने हात मानिन्छन् तर सभामुख पदमा रहेर अरुबेला जसरी खुलेर समर्थन र वकालत गर्न मिल्दैन ।

त्यस्तै औपचारिक रुपमा नभएपनि स्थायी कमिटीसरहकै हैसियतका पूर्व सभामुख कृष्णबहादुर महरा समेत प्रचण्डको समर्थनमा छैनन् । उनी गृहमन्त्री रामबहादुर थापासँग निकट छन् । महराले आफू धु्रवीकरणको पक्षमा रहेको निकट नेताहरुसँग बताउंदै आएका छन् । विगत लामो समयदेखि प्रचण्डलाई टेको लगाउँदै आएका नेताहरू अहिले छिन्नभिन्न भएका छन् ।

प्रचण्डलाई हाल समर्थन गरिरहेका पुन, बस्नेत र शर्माबाहेक भुसाल, पोखरेल र गुरुङलाई जुनसुकै बेला गृहमन्त्री थापाले आफ्नो प्रभावमा पर्नसक्ने आंकलन छ । भुसाल र गुरुङ वैद्य नेतृत्वको पार्टी बादलसँगै प्रचण्डसँग मिसिन पुगेका पात्रहरु हुन् ।

यसरी स्थायी कमिटी बैठकमा प्रचण्डलाई भित्रैदेखि सघाउने नेताको खडेरी हुँदै गएको छ । कमजोर अवस्थामा रहेका प्रचण्डलाई पूर्वमाओवादी केन्द्रका युवा नेताहरूले दुवै अध्यक्ष मिल्नुपर्ने पक्षमा मत राख्न शुरु गरेका छन् । अहिलेका विवादबाट पार्टीमा प्रचण्डले एजेण्डा जिताउन सक्दैनन् कि भन्ने चिन्ता उनीहरुमा राम्रैुँग परेको छ ।

बालुवाटारमा बैठक चलिरहँदा बुधवार उर्जामन्त्री पुनले गृहमन्त्री बादललाई टेलिफोन गरेर दुवै अध्यक्षलाई मिलाउन भुमिका खेल्न आग्रह गरेका थिए । यसबाट पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष ओलीसँग मिलेर जानुपर्ने दबाब बढेपछि ओलीलाई पार्टीको कुनैपनि बैठकमा आउन बाध्य गराउने विधिको प्रयोगमा पुग्ने मार्गको पहिल्याउने ठाउँमा पुर्याएको ठानिन्छ ।

पार्टी एकीकरणपछि पार्टी आन्तरिक विवादमा उपाध्यक्ष वामदेव गौतमले प्रचण्डलाई लगातार सघाउँदै आएका थिए । तर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने एजेन्डामा उपाध्यक्ष गौतमको समर्थन नरहने मंगलबारको बालुवाटार बैठकमा लिखित धारणा राखेपछि प्रचण्ड थप तनाव परे । किनकि उपाध्यक्ष पद एकताका पार्टीभित्र पद बाँडफाँडका क्रममा आन्तरिक किचलो मेटाउन प्रचण्डले प्रस्ताव गरेर गौतमलाई उपाध्यक्ष बनाइएको थियो । यसबीच गौतमलाई प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली भैंसेपाटीस्थित घरमै गएर भेट गरेका छन् । यसपछि भने गौतम मौन छन् ।

प्रचण्ड एकपटक फेरि प्रधानमन्त्री ओलीसँगग फाइलन छलफल गर्ने टाउँमा पुगेको बताइन्छ । अहिले स्थायी कमिटी बहुमत सदस्य हुँदाहुँदै पनि प्रचण्डले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । पछिल्लो अवस्थामा प्रचण्ड स्वयम् पार्टीभित्रको विवादलाई पार्टी फुटको तहसम्म पुग्नबाट रोकेर सुरक्षित अवतरण नै ठीक हुने मुडमा रहेको उनी निकटस्थ नेताहरुको दाबी छ ।

बुधबार दिउँसो पार्टी कार्यालयमै पुगेर १५२ जना केन्द्रीय समितिका सदस्यहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर ओली र प्रचण्ड दुवै अध्यक्षलाई सम्बोधनसहित महिना दिनभित्र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । प्रचण्डका लागि यो पत्र सुरक्षित अवतरणको अस्त्र बन्छ कि बन्दैन त्यो भने हेर्नै बाँकी छ ।

Leave A Reply

Your email address will not be published.