कैलालीमा बाढीः तीनजना अझै बेपत्ता, ६ हजार भन्दा बढी घर डुबानमा

0

धनगढी – अबिरल वर्षा र त्यससँगै आएको बाढीका कारण कैलालीमा ६ हजार घर डुबानमा परेका छन् । दुई हजार परिवार विस्थापित भएको छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढीबाट सबैभन्दा बढी जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्ती प्रभावित भएका छन् । भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन् । त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

टीकापुरमा बाढीले ५६ घर भत्किएका छन् । डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ । यस्तै कैलालीमै बाढीमा परी वेपत्ता भएका तीन जनाको खोजी जारी छ ।

बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीनजना अझै बेपत्ता छन् । कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र बिक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए ।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको उनले बताए । बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरी, बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

बुधबार रातभरि र बिहीबार बिहान पनि वर्षा जारी भएकाले उद्धारका लागि समस्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।

Leave A Reply

Your email address will not be published.