वीरगञ्जमा मृत्यु भएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि, मृत्यु हुने ४५ पुगे

0

वीरगञ्ज – वीरगञ्जमा उपचारकाे क्रममा मृत्यु भएकी तथा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएकी युवतीको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ।

शुक्रबार मृत्यु भएकी बारा परवानीपुरकी १९ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालक मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

ती युवतीको उपचारको क्रममा शुक्रबार गण्डक अस्पतालमा मृत्यु भएको थियो।

वीरगञ्जको हेल्थ केयर अस्पतालबाट रेफर भएर आएकी ती युवतीको उपचारको क्रममा शुक्रबार अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो।

शुक्रबार नै वीरगञ्जमा उपचाररत ८५ वर्षका एक वृद्धको समेत मृत्यु भएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पनि मृतक युवतीमा कोरोना देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४५ पुगेको छ।

यसैबिच शुक्रबार राति वीरगञ्जमा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

संक्रमण देखिएका मध्ये एक जना रौतहटका छन् भने बाँकी पर्सा जिल्लाकै रहेका छन्। संक्रमितहरु ५ देखि ५२ बर्ष उमेरका रहेका छन् ।

उनीहरुको साउन ८ गते स्वाब संकलन गरिएको थियो।

हाल अस्थायी कोरोना अस्पताल गण्डकमा चार जना संक्रमितहरुको आइसियुमा राखेर उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.