राप्रपामा दुई जर्नेलकै मात्र चर्चा

0

काठमाडौं, ६ साउन । राप्रपाको राणा समूह विभाजनको संघारमा पुगेको छ । ठूला नाति जर्नेल र साना नाति जर्नेलबीचको द्वन्द्वका कारण राणा समूह विभाजनको संघारमा पुगेको हो । आधिकारिक अध्यक्षको विवादका कारण लोकेन्द्रबहादुर चन्द अध्यक्ष रहेको एउटा समूह र पशुपतिशमशेर राणा अध्यक्ष रहेको अर्को समूह समानान्तर गतिविधिमा क्रियाशील छन् । जसमध्ये राणा समूह नेपाली कांग्रेससँग निकट मनिन्छ भने चन्द समूह एमालेसँग निकट मानिन्छ । यतिबेला राणा समूहका तर्फबाट सुनीलबहादुर थापा मन्त्री छन् । संविधान बन्नासाथ एमालेको नेतृत्वमा सरकार गठन हुने भएकाले चन्द समूहको सहभागिता हुने देखिएको छ । यो संकेत पाउनेवित्तिकै राप्रपाको आन्तरिक समीकरण परिवर्तन हुन थालेको छ । चन्द समूहतिर लाग्ने क्रम सुरु भएको छ । जो बलियो हुन्छ र जताबाट लाभ पाइन्छ, त्यतै लाग्ने चरित्र राप्रपाभित्र स्थापनाकालदेखि नै सुरु भएको हो ।
समाचार स्रोतका अनुसार सूर्यबहादुर थापाको निधन भइसकेको र चन्द समूह सरकारमा सहभागी हुने अवस्था बनिसकेका कारण तत्कालीन जनशक्तिमा आबद्ध प्रायः नेताहरू चन्द समूहमा समाहित हुन थालेका छन् । जनशक्तिवालाहरूलाई चन्द समूहमा ल्याउने कार्यको संयोजन डा. प्रकाशचन्द्र लोहनीले गरिरहेका छन् । जनशक्ति निकट ३४ जना केन्द्रीय सदस्यहरू चन्द समूहमा जान लागेको सुइँको पाएपछि अध्यक्ष राणाले सूर्यबहादुरका छोरा सुनिल थापा र नाति सिद्धार्थ थापालाई आफ्नो निवास बोलाएर लामो वार्ता गरेका थिए । तर दुवैजनाले लाचारी प्रकट गरेपछि राणा निराश बनेका थिए ।
पार्टीभित्र राणालाई ठूला नाति जर्नेल र सिद्धार्थलाई साना नाति जर्नेल भन्ने गरिन्छ । दुवैजना पूर्वप्रधानमन्त्रप्का नाति हुन् । यी नाति जर्नेलहरूबीच कुराकानी हुँदा नेपाली भाषा प्रयोग गरिन्न, अंग्रेजी भाषामै संवाद हुन्छ । समाचार स्रोतका अनुसार साना नाति जर्नेल सिद्धार्थ गत मंगलबार ‘राणालाई फाल्न प¥यो गुरुज्यू’ भन्दै डा.प्रकाशचन्द्र लोहनीकहाँ पुगेका थिए । आफूलाई केन्द्रीय सदस्य बनाउने ग्यारेन्टी भए चन्दलाई आधिकारिक अध्यक्ष बनाउन मद्दत गर्ने प्रस्ताव साना नाति जर्नेलको थियो ।
तत्कालीन जनशक्तिवालाहरूले हात झिकेका कारण राणाले समानुपातिक सभासद्तर्फ रिक्त रहेको कोटामा नाम पठाउन सकेका छैनन् । सूर्यबहादुरको निधनपछि राप्रपाको भागमा रहेको समानुपातिक सभासद्को कोटा तीन महिनादेखि रिक्त छ । केन्द्रीय समितिको बहुमतले निर्णय गर्नुपर्ने भएका कारण यो कोटा अलपत्र परेको हो । जनशक्तिवालाहरूको समर्थनविना न चन्द समूहको बहुमत पुग्ने अवस्था छ, न त राणा समूहको । यो मामिलामा चन्द समूहले एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री हुने दिन पर्खेर बसेको छ भने राणा समूहमा रहेका तत्कालीन जनशक्ति पार्टीका नेताहरूले धनकुटाका पदमबहादुर थापालाई सिफारिस गरेका छन् भने राणाको किचेन क्याबिनेटले कुमार थापाको नाम लिएको छ । यसबारेमा कुरा गर्न गत साता सुनिल थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, सहायक प्रवक्ता किरण गिरीलगायतको टोली अध्यक्ष राणाकहाँ पुगेको थियो । तर राणाले सुनुवाइ गरेनन् । टोलीका सिनियर नेता निस्केपछि सहायक प्रवक्ता गिरीले यो सुझाव नमानेमा तपाईंलाई ठूलो घाटा हुन्छ भन्दै राणालाई सम्झाउन खोजेका थिए । तर राणाले आक्रोशित हुँदै भने, ‘मलाई निर्देशन दिने तँ को होस् । सहायक प्रवक्ता पद पनि तँलाई पचेको रहेनछ, होइन ? निस्किहाल यहाँबाट’ भन्दै लखेटे । समाचार स्रोतका अनुसार अब गिरीलाई हटाएर भरत पाठकलाई सहायक प्रवक्ता बनाउने तयारी राणाले गरेका छन् ।
यसैबीच, साउनभरिमा भारतको औपचारिक भ्रमण गारइदिने र मंसिरसम्म प्रधानमन्त्री पदमा बहाल गराइदिने राणाको आश्वासन पूरा नहुने स्थिति उत्पन्न भएपछि प्रधानमन्त्री सुशील कोइराला राणासँग रिसाएका छन् । मन्त्रिपरिषद्बाट मानोनीत हुने २६ सभासद्मध्ये रिक्त रहेको एउटा कोटामा आफू सभासद् बन्न प्रधानमन्त्री कोइरालालाई राप्रपा अध्यक्ष राणाले ठूलै आश्वासन दिएका थिए । तर गत साता भएको एक भेटमा प्रधानमन्त्री कोइरालाले तपाई फितलो हुनुहुँदो रहेछ, विश्वास गर्न सकिएन, ओलीलाई सहमत गराउनोस् अनि मात्रै सभासद् मनोनीत गरिदिउँला भन्दै रित्तो हात पठाएका थिए । यसपछि राणा दीपक बोहोरा र बुद्धिमान तामाङलाई लिएर एमाले अध्यक्ष ओलीकहाँ पुगेका थिए । तर ओलीले पनि तपाईंसँग बहुमत रहेनछ, चन्दजीको पनि समर्थन भयो भने एक सिट तपाईहरूलाई दिन हामीलाई आपत्ति छैन भन्दै फर्काएका थिए ।

Leave A Reply

Your email address will not be published.