‘ओलीजीसँग कुनै सहमति भएको छैन’ प्रचण्ड

0

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै गोप्य सहमति नभएको प्रष्टीकरण दिएका छन् ।

नेकपा विवाद हल गर्न मंसिरमा ‘अर्ली महाधिवेशन’ बोलाउनेबारेमा सकारात्मक भएको जनाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले ओलीसँग कुनै सहमति नभएको प्रष्टीकरण दिएका हुन् ।

खुमलटारमा बोलाएको बैठकमा उपस्थित स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको प्रष्टीकरण दिएका हुन् ।

‘प्रचण्डजीले ओलीजीसँग कुनै सहमति नभएको बताउँदै ढुक्क हुन आग्रह गर्नुभयो,’ पन्तले शिलापत्रसँग भने, ‘ओलीजीबाट महाधिवेशनको प्रस्ताव आएपछि छलफल गर्न सकारात्मक भएको तर त्यसका बारेमा कुनै सहमति नगरेको उहाँको भनाइ थियो ।’

उनका अनुसार प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधकुमार नेपालले भनेअनुसार नै आफू अघि बढ्न तयार रहेको प्रतिवद्धतासमेत जनाएका छन् ।

त्यसो त राष्ट्रपति भवन, शीतलनिवास योजनावद्ध रुपमा नभई आकस्मिक रूपमा मात्रै गएको पनि खुमलटारमा उपस्थित नेताहरूलाई जानकारी गराए ।

‘सचिवालय बैठक सकिएपछि भेट्नलाई म उहाँको निवास पुगेको थिएँ । तर त्यहाँ पुग्दा नदेखेपछि सम्पर्क गर्दा उहाँ शीतलनिवास पुग्नुभएको रहेछ,’ प्रचण्डलाई उदृत गर्दै पन्तले भने, ‘प्रधानमन्त्री उता गएपछि म पनि पुगेको हुँ, त्यहाँ पुग्दा अरु साथीहरू पनि रहेछन्, यो आकस्मिक भेट हो ।’

सचिवालय बैठकपछि ओली–प्रचण्ड, शंकर पोखरेल र जनार्दन शर्मालगायतका नेताले शनिबार साँझ शीतलनिवासमा वार्ता र छलफलसमेत गरेका थिए ।

‘तपाईंहरूले कुनै शंका उपशंका गर्नु पर्दैन, जे–जे हुन्छ– म पारदर्शी रूपमा नै गर्दछु, म तपाईंहरूसँग उछिट्टिएर कतै जान्नँ, ढुक्क हुनुहोस्,’ प्रचण्डले खुमलटारमा भने ।

वरिष्ठ नेता माधवकुमार नेपालले सदस्यता नै वितरण नभएको अवस्थामा ४ महिनाभित्र कसरी महाधिवेशन हुन्छ ? महाधिवेशनमा जाने निर्णयमा कसरी पुग्नुभयो ? भन्दै प्रश्न गरेपछि प्रचण्डले आइतबार बिहान प्रष्टीकरण दिएका हुन् ।

‘शीतलनिवासबाट फर्केपछि मेरो सचिवालयले समेत कुनै सहमति नभएको स्पष्ट पारिसकेको छ, यही बीचमा सूचना बाहिर आयो, जसले कन्फ्युजन गराउने काम गर्‍यो’ प्रचण्डले बैठकमा भने ।

गौतम र बादल गएनन्


प्रचण्ड–नेपाल समूहमा रहेका भनिएका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा (बादल) ले भने खुमलटार गएनन् । कार्य ब्यस्तता देखाउँदै उनीहरू आउन नसकेको जानकारी खुमलटार भेलामा गराइएको थियो ।
सो भेलामा सचिवालयका ९ जनामध्ये प्रचण्ड, खनाल, नेपाल, नारायणकाजी श्रेष्ठ उपस्थित थिए भने अन्य ६ जना सो भेलामा उपस्थित नभए पनि प्रचण्ड–नेपालनिकट स्थायी समिति सदस्यहरुको भने उपस्थिति रहेको थियो ।
Leave A Reply

Your email address will not be published.