आज पनि जनकपुर बन्द

0

जनकपुरधाम, ५ साउन । मधेस अधिकार सङ्घर्ष समिति (मास)ले आज दोस्रो दिन पनि जनकपुर बन्दको कार्यक्रम यथावत राखेको छ ।
संविधानको प्रारम्भिक मस्यौदा मधेस विरोधी रहेको भन्दै मस्यौदामा मधेसको हक अधिकार, प्रदेशको नामाङ्कन, सीमाङ्कन र नागरिकतासम्बन्धमा विभेद गरिएकोे भन्दै मासले सोमबार र मङ्गलबार जनकपुर बन्दको पूर्वघोषणा गरेअनुसार आज पनि जनकपुर बन्द रहेको छ ।
मस्यौदाको सुझाव सङ्कलन कार्यक्रमलाई बिथोल्ने उद्देश्यका साथ मासले दुई दिन जनकपुर बजार बन्दको आह्वान गरेको मासका संयोजक सरोज मिश्रले बताउनुभयो । मिश्रका अनुसार सुझाव सङ्कलनका क्रममा नेपाल प्रहरीले गरेको दमनको विरोध गर्दै आज जनकपुरका विभिन्न चोकमा टायर बालेर प्रदर्शनसमेत गरिएको छ । जनकपुरको मुजेलिया, पीडारी चोक, रामानन्दचोक लगायतका विभिन्न चोकमा स्थानीयवासीले स्वतः स्फूर्तरुपमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
यसका साथै मधेस सम्बद्ध राजनीतिक दलले धनुषाको क्षेत्र नं १ र ७ बाहेक २, ३, ४, ५ र ६ को सुझाव सङ्कलन कार्यक्रममा गतिरोध पैदा गरी सोमबार सुझाव सङ्कलन हुन दिएनन् भने आन्दोलनकारी एवम् प्रहरीबीच झडप हुँदा करिब ५० जना घाइते भएका थिए ।

Leave A Reply

Your email address will not be published.