ओलीले बहुमत फेश गर्छु भनेपछि दाहाल-नेपाल आफ्नो समूहका नेताहरुसँग छलफलमा

0

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलको उपस्थितिमा भएको छलफल बिना निश्कर्ष सम्पन्न भएको छ। तर, आजको छलफलमा नेताहरुबीच भोलिको लागि तय गरिएको स्थायी कमिटी बैठक सुचारु गर्नेबारे समझदारी बनेको छ ।

आजको छलफलमा पनि अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालले ओलीको कार्यशैली र पछिल्लो अभिव्यक्तिका कारण पार्टी र सरकार दुवै बद्नाम भएको बताउँदै प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिन ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याए। दाहाल-नेपाललाई आफूलाई बैठकबाट कारबाही गरेर देखाउनसमेत ओलीले चूनौति दिए । स्थायी कमिटीको बैठकको पूर्व सन्ध्यामा भएको शीर्ष नेताहरुको छलफलमा नेताहरुले आफ्नो अडान कायमै राख्दा सहमति हुन नसकेको एक नेताले जानकारी दिए ।

ती नेताले भने,’दुवै अध्यक्षले स्थायी कमिटीको बैठक स्थगित् गरेर पटक-पटक एक्लाएक्लै भेटवार्ता गर्दै आउनुभएको हो । तर, सहमति हुन सकेको थिएन् । त्यही भएर आज बरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलपनि सहभागी भएर छलफल भएको थियो । आजको छलफलमा पनि कुनै ठोस सहमति भएन । नेताहरु आफ्नो अडानमा कायमै रहनुभयो भन्ने कुरा छ । तर, स्थायी कमिटीको भोलिको बैठक भने सुचारु हुने समझदारी बनेको छ । यो सकरात्मक कुरा हो ।’

ओलीसँग भेट्न जानुपूर्व दाहाल नेपाल समूहका नेताहरुले छुट्टै परामर्श गरेका थिए । सचिवालयका ६ जना सदस्यहरु अब बैठक स्थगित् गरेर बस्न नहुने निश्कर्षमा पुगेका थिए । ओलीले पार्टीको निर्णय मानेर अघि बढ्नुको विकल्प नभएको पनि उनीहरुको निश्कर्ष थियो ।

बालुवाटारमा ओलीसँगको भेटवार्तापछि पनि दाहाल-नेपाल समूह भोलिको बैठकमा कसरी प्रस्तुत हुने भनेर परामर्शमा नै रहेको बुझिएको छ । ओलीले आफू स्थायी कमिटीको बैठक फेश गर्न तयार रहेको भनेर चूनौति दिएपछि दाहाल-नेपाल समूह झस्किएको छ । कतै आफ्नै समूहका स्थायी कमिटी सदस्यहरुले आफूहरुलाई धोका दिने त होईनन् ? भन्ने उनीहरुलाई शंका लागेको छ ।

यो बीचमा दाहालनिकट स्थायी कमिटी सदस्यहरु मणि थापा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेलले अहिले ओलीलाई दुवै पदबाट हटाउन नहुने धारणा राख्दै आएका छन् । दाहालनिकट मानिने नेता लेखराज भट्ट त यसअघि नै उनको क्याम्प छोडेर ओलीतिर गएका छन् । अहिले दाहाल नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरुलाई शीर्ष नेताहरुले तारन्तार फोन गरिरेका छन् । 

Leave A Reply

Your email address will not be published.