नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मंगलबार बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि बस्ने बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र सरकारको कामकारवाही बारे सघन छलफल हुने बताइएको छ ।

एमसीसीलाई लिएर नेकपा भित्रै विवाद रहेको छ । यहि असार १६ गते भित्र एमसीसी पारित गर्नु पर्ने समय सीमा रहेको र अब असार १७ गते मात्रै संसद बैठक बस्ने परिवेशकाबिच हुन लागेको नेकपाको स्थायी समिति बैठकलाई महत्वका साथ लिइएको छ ।

गएको वैशाख २५ गतेका लागि तय भएको स्थायी समिति बैठक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए ।

मंगलबारको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल खेमामा ओली पक्षविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

प्रचण्ड र नेपाल पक्षले सरकारको काम प्रभावकारी नभएको, जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, कार्यकर्तामा निराशा बढेकोसहितका विषय बैठकमा उठाउने तयारी गरेको नेपाल पक्षका एक स्थायी कमिटि सदस्यले बताए ।

यस्तै बैठकमा पार्टी नियन्त्रण बाहिर गएर सरकार सञ्चालन गरेको विषय पनि उठाइने उनले बताए।

यस्तै बैठकमा एमसीसीमाथि बिस्तारित छलफल हुने जनाइएको छ । यो बैठकले एमसीसी पारित गर्ने–नगर्ने या तत्कालका लागि थाती राख्ने सम्बन्धमा महत्वपूर्ण छलफल गरी निर्णय लिने सम्भावना रहेको छ ।

नेकपाले एमसीसी बारे अध्ययन गरी परामर्श दिन गठन गरेको कार्यदलले अहिलेकै अवस्थामा पारित गर्न नहुने सुझाव दिएको थियो । नेता झलनाथ खनालसहितको कार्यदलको सुझाव तथा पार्टीका नेताहरुको यसबारेको धारणामा पनि छलफल हुने छ ।

एमसीसीका सम्बन्धमा नेकपाको यो बैठक निर्णायक बैठक हो ।

Leave A Reply

Your email address will not be published.