पाल्पा अपडेट : पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु

0

काठमाण्डौं – पाल्पाको तानसेन–हार्थोक सडक अन्तर्गत तानसेन नगरपालिका–११, बन्दीपोखरा सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।

मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसार अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन।
गम्भीर घाइते अवस्थामा उद्धार गरिएका घाइतेको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए।

तानसेन–हार्थाेक सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका–११ सम्मोबारीमा खसेको पहिरोमा लु २ च ७०४३ को बोलेरो जीप, लु १ च ७०११ नम्बरको कार, लु २ ख १३७६ नम्बरको ट्रक र एक पानी बोक्ने ट्याङ्कर पहिरोले बगाएको हो।

घटना स्थलबाट एउटा मोटरसाइकलको हेलमेट फेला परेको थियो। त्यसैका आधारमा मोटरसाइकलमा सवार व्यक्ति पनि पहिरोभन्दा अगाडि गइसकेको वा पुरिएको भन्ने खुल्न नसकेको उनले बताए।

आफ्नो मोटरसाइकल पुरिएको भन्ने खबर नआएको प्रहरीले जनाएको छ। तर प्रत्यक्षदर्शीले भने मोटरसाइकल चालकले मोटरसाईकल छाडेर भागेको देखेको बताएका छन् । सडकमाथिबाट खसेको पहिरोले सवारी साधनलाई बगाएर सडक तल भीरमा पुर्‍याएको छ। एउटा मालबाहक मिनी ट्रक भीरमै अड्किएको छ। पानी बोक्ने ठूलो ट्याङ्कर भने सडकबाट ५ सय मिटर तल पुगेको छ ।

Leave A Reply

Your email address will not be published.