‘स्पष्ट हुनुहोस् विदेशबाट नेपाल आउँदा लाग्ने खर्च सरकारले तिर्ने होइन’

0

काठमाण्डौं – कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका (विशेष गरी रोजगारीका लागि खाडीसहितका देशमा गएकाहरु) नेपालीलाई स्वदेश ल्याउनका लागि सम्बन्धित देशका दूतावाससँग समन्वय गरी काम भइरहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

स्वदेश फर्किन चाहने नेपालीको नाम सम्बन्धित देशमा रहेका नेपाली दूतावासले संकलन गरेर प्राथमिकताका आधारमा सूचिकृत गर्ने काम भइरहेको सीसीएमसीका संयोजक नारायणप्रसाद विडारीले बताएका छन् ।

उनले भने, ‘विशेष गरी रोजगारीका लागि नेपाली धेरै रहेका खाडीका देशहरुमा प्राथमिकताका साथ काम भएको छ । त्यहाँ दूतावासहरुमा नामावली संकलन गरी प्राथमिकताका आधारमा नाम सूचिकृत गर्ने काम भइरहेको छ ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव समेत रहेका सीसीएमसी संयोजक विडारीले आउन चाहने नेपालीले यात्राका लागि लाग्ने खर्च आफैले तिर्नु पर्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘यात्राका लागि लाग्ने खर्च आउन चाहने व्यक्तिले नै तिर्ने भन्नेमा कुनै अस्पष्टता छैन । सरकारले यसअघि नै भने अनुसार फर्किन चाहने व्यक्तिले विमान अर्थात यात्रा प्रक्रियाका लागि लाग्ने सबै खर्च आफै तिर्नु पर्छ ।’

उनले थपे, ‘नेपाल आइसकेपछि क्वारेन्टिनका लागि आफ्नो सुविधा अनुसार होटलमा बस्न चाहनेले सो बापतको पैसा आफै बेहोर्नु पर्छ । तर सरकारले पालिका तहमा तयार गरेको क्वारेन्टिन सेन्टरमा बस्नेहरुका लागि भने पैसा लाग्दैन, सरकारी मानो खानेले भने पैसा तिर्नु पर्दैन ।’

विदेशबाट नेपाली ल्याउने प्रक्रियाको सम्पूर्ण संयोजन सीसीएमसीले गर्ने भए पनि यसमा समन्वय भने परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय तथा गृह मन्त्रालयसँग गर्नु पर्छ । परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारीले तेस्रो मुलुकमा रहेका नेपाली दूतावासले आउन चाहनेहरुको नाम संकलन गरिरहेका छन् ।

उनले यात्रा प्रबन्धमा लाग्ने लागतबारे थप स्पष्ट पार्दै भने, ‘नेपाल सरकारले अन्तिम अवस्थामा मात्रै पैसा तिर्ने भन्ने स्पष्ट छ । कतिपय अवस्थामा नेपालीहरु रहेका देशले खर्च बेहोर्ने कुरा भएको छ । यस्तै नेपालीले काम गर्ने कम्पनी तथा त्यस्तो अवस्था नरहेमा उनीहरुलाई पठाउने नेपालका म्यानपावरहरुले पनि खर्च बेहोर्न सक्ने छन् । यी सबै विकल्प नभएमा कामदार आफैले तिर्नु पर्छ । कामदारले पनि तिर्नै नसक्ने अवस्था देखिएमा मात्रै नेपाल सरकारले खर्च बेहोर्ने हो ।’

विदेशमा रहेका नेपालीहरु ल्याउनका लागि प्राथमिकता निर्धारण गरी आउनेहरुको सूचि तयार भएपछि टिकट खुला हुने सीसीएमसीका संयोजक विडारीले बताए । नेपालीहरु ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइड बडी र न्यारो बडी विमान प्रयोग हुने उनले जानकारी दिएका छन् । चाप हरेर निजी एयरलाइन्सलाई पनि उडान अनुमति दिइने तयारी छ । तर अहिले सूचि तयार पार्ने काम भइरहेकाले टिकट खुला नगरिएको उनले दाबी गरे ।

तर नेपाली आउने सूचि तयार भएपछि उडानको व्यवस्थापनको जिम्मा पाएको पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले तत्काल यहि दिन नै नेपाली ल्याउने भनी उडानको व्यवस्था गर्ने बारे कुनै निर्णय नभएको बताए ।

सीसीएमसीमा पर्यटन मन्त्रालयका तर्फबाट संयोजनका जिम्मा पाएका सहसचिव लामिछानेले भने, ‘माथिल्लो तहबाट निर्णय भएपछि मात्रै उडान व्यवस्थापनको काम हुने हो । अहिलेसम्म सो सम्बन्धमा कुनै निर्णय भएको छैन । हप्तादिन भित्र केही न केही निर्णय हुन सक्छ । तर उडान नै तय हुन्छ भन्न चाहिँ अहिले सक्ने अवस्था रहेन ।’

केही दिनभित्रै विदेशमा रहेका नेपाली स्वदेश फिर्ता हुने सम्भावना नरहेको कुरा गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदार शर्माको भनाईले पनि संकेत गर्छ ।

उनले देश सञ्चारसँग भने, ‘परराष्ट्र मन्त्रालयले नेपाल आउन चाहने नेपालीको नाम प्राप्त भएपछि अध्यागन सम्बन्ध व्यवस्थाका लागि हामीलाई पत्र लेख्ने हो । शुक्रबार म्यानमार र युएईबाट आएका बाहेक अरुका सम्बन्धमा हालसम्म पत्र प्राप्त भएको छैन ।’

आफूहरुको तर्फबाट गर्नु पर्ने अध्यागनमको समन्वयका लागि तयारी अवस्थामा रहेको उनले बताए । गएको शुक्रबार म्यानबार त्यहिँको सेनाको विमानमा २६ नेपाली स्वदेश फर्किएका थिए । यस्तै युएईबाट पनि शुक्रबार नै १६९ जना नेपाली आएका थिए ।

Leave A Reply

Your email address will not be published.