प्रधानमन्त्रीको पक्षमा हस्तक्षर अभियान, बहुमत सांसदको समर्थन रहेको दाबी

0

काठमाण्डौं – प्रधानमन्त्री केपी ओलीलाई हटाउन नेकपाभित्र दबाब बढेपछि विवाद चर्कैदै गएको छ । खोलीको बहुमत सांसदको हस्ताक्षर देखाउने गरी बुधबार पनि बालुवाटारमा सांसद र निकट केन्द्रीय सदस्यहरूको भेला गरेको छ । अहिलेसम्म ७० भन्दा बढी सांसदले भेलामै उपस्थिति जनाएको, बाँकी सांसदहरू पनि काठमाडौं आउने क्रम जारी रहेको तथा पूर्वमाओवादी समूहबाट एक दर्जनभन्दा बढी सांसदले समर्थन गर्ने निश्चित देखिएको भन्दै सुविधाजनक बहुमत पुगिसकेको ओली समूहले दाबी गरेको हो ।

प्रचण्ड पक्षले ओलीलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ । माधव नेपालले भने अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाब दिएका छन् । ओलीले दुवै पद नछाड्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।

‘केपी कमरेडसँग बहुमत सांसद छन्, आवश्यकता पर्दा जुनसुकै बखत संसदीय दल वा कहीँ–कतै हस्ताक्षर देखाइनेछ,’ केन्द्रीय सदस्य तथा सांसद भेलापछि भक्तपुरका सांसद महेश बस्नेतले दाबी गर्दै भने, ‘तर उहाँ (केपी ओली) सबै विकल्पमा लचकता अपनाएर भए पनि पार्टीलाई एकताबद्ध राख्ने अभियानमा प्रतिबद्ध हुनुहुन्छ ।’

उनले भेलामा सहभागी सबै सांसदले राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री छाड्नुहुँदैन भन्ने सुझाब दिएको पनि जानकारी दिए । ‘उहाँले महाधिवेशन जतिसक्दो छिटो हुन्छ, त्यति चाँडै अध्यक्ष पनि छाडिदिन्छु, दुई–तीन महिनाभित्रै हुन्छ भने पनि म तयार छु भनेर लचकता अपनाइसक्नुभएको छ । यति भन्दाभन्दै पनि उहाँलाई हटाउने प्रयास हुन्छ भने बहुमत सांसदको साथ उहाँलाई नै हुनेछ,’ बस्नेतले भने ।

एक सय ७४ सदस्यीय संसदीय दलमा ७८ सांसद आफूसँग भएको र बहुमतका लागि थप १० सांसद जुटाउन सम्भव रहेको ओली समूहको विश्वास छ । स्रोतका अनुसार आज ५ बजेबाट सुरु हुने सचिवालय बैठकमै आफूलाई बहुमत सांसदको समर्थन रहेको अनुभूति दिने गरी प्रधानमन्त्रीले तयारी तीव्र पारेका छन् ।


प्रधानमन्त्रीकै समर्थनमा पूर्वसभामुख कृष्णबहादुर महराबाट पनि सहमति, सहकार्य र एकताका पक्षमा वक्तव्य जारी भएको बालुवाटार स्रोतको दाबी छ ।त्यस्तै, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायत पूर्वमाओवादी समूहका तर्फबाट पनि संगठित रूपमै वर्तमान सरकारको पक्षमा वक्तव्य आउने सम्भावना रहेको बालुवाटार स्रोतको दाबी छ । त्यस्तै सरकारका रहेका माधव नेपाल पक्षका मन्त्रीहरु समेत ओलीको पक्षमा रहेको दाबी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.