सौराहामा लायन्स, लियो र जेसिजद्वारा गो ग्रिन अभियान

0

रत्ननगर (चितवन), २ साउन । चितवनको रत्ननगरस्थित सौराहामा रहेको लायन्स क्लब, लियो र जेसिजद्वारा आजदेखि ‘गो ग्रिन’ अभियान सुरु गरिएको छ । सौराहास्थित जनकौली सामुदायिक वनमा बिरुवा रोपेर उक्त अभियान सुरु भएको लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो । लायन्सले देशैभरि आगामी १५ दिन ‘एक लायन एक बिरुवा’ रोप्ने कार्यक्रम सुरु गरेर उक्त अभियान थालेको हो । बिरुवा रोप्नु ठूलो कुरा नभई त्यसलाई जसले रोप्यो उसैले हुर्काउनुपर्ने गो ग्रीन अभियानको उद्देश्य रहेको भट्टराईले बताउनुभयो ।
लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ वाइल्डलाइफ सिटी, लियो क्लब अफ चितवन सौराहा र सौराहा जेसिजको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा विभिन्न जातका बिरुवा रोपिएको छ ।
वृक्षरोपणका कार्यक्रममा रेस्टुराँ एण्ड बार एसोसिएसन ‘रेवान’ सौराहाका अध्यक्ष लालबहादुर भट्टले बिरुवा हुर्काउन र जोगाउनतर्फ लाग्नुपर्ने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । लायन्स क्लब अफ चितवन सौराहाका सचिव शीरलाल परियारले जतिपनि बिरुवा आवश्यक भएमा आफू ल्याउन तयार भएको बताउँदै सौराहालाई हरियाली बनाउन लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ वाइल्डलाइफ सिटी सौराहाका अध्यक्ष सुवास गौतम, सौराहा जेसिजका प्रथम उपाध्यक्ष रामशरण सिलवाल, लियो क्लब अफ सौराहाका पूर्वअध्यक्ष गोविन्द ढकाल, वर्तमान अध्यक्ष निमेश लोप्चनले वन जङ्गलको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.