उच्चस्तरीय समितिका ८ महत्वपूर्ण निर्णय

0

काठमाण्डौं – कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न आठ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले चीनबाट जिटूजी माध्यमबाट स्वास्थ्य सामाग्री खरिदको विषयलाई टुंगो लगाएको हो । सरकारले चीनबाट जिटूजी माध्यमबाट स्वास्थ्य सामाग्री खरिद गरी आयात गर्ने बुधबार समझदारी भएको छ । चीनबाट ल्याइने सामानको मुल्य तय भइसकेको र बुधबार नै अन्तिम डिल गर्न लागिएको छ ।

समितिका प्रवक्ता नारायण प्रसाद बिडारीका अनुसार तीन चरणमा भिडियो कन्फरेन्समार्फत जिटूजी माध्यमबाट खरिदको काम अन्तिम चरणमा पुगेको र आजै यसबारे टुंगो लाग्ने बताए । स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयको संयोजकत्वमा चीनसँग स्वास्थ्य सामाग्री खरिदबारे छलफल अघि बढाइएको थियो । चरणबद्ध छलफलपछि चीनसँग समझदारी भएको हो । सरकारले निजी कम्पनीमार्फतको खरिदमा भ्रष्टाचारका चरम विवादमा परेपछि त्यसलाई रद्द गरी जिटूजीमाध्यमबाट खरिद गर्न लागेको हो ।

लकडाउन नमान्नेलाई मुद्दा

बैठकले लकडाउन कार्यान्वायनमा थप कडाई गर्ने र नमान्नेलाई मुद्दा चलाउने निर्णय गरेको छ । संक्रामक रोग ऐनअनुसार मुद्दा चलाउने निर्णय भएको सचिव बिडारीले बताए । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाई गर्न लागिएको हो ।

त्यस्तै जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण पहिचान र उपचारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । त्रिभुवन विश्वबिद्यालयमा रहेको पिसिआर मेसिनलाई २ नम्बर प्रदेशमा दिने निर्णय गरिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघअन्र्तगतका निकायमा कार्यरत नेपालीलाई चार्टड विमानमार्फत नेपाल ल्याउने निर्णय भएको छ । राष्ट्रसंघले नै त्यसबारे पत्राचार गरेको सचिव बिडारीले बताए । अफगानिस्तानमा जोखिम बढेपछि उनीहरुलाई नेपाल ल्याउन लागिएको हो ।
बैठकले बैशाख १८ सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.