डब्लुएचओले वास्तविकता लुकाएको आरोप लगाउँदै ट्रम्पद्वारा सहायता रोक्न निर्देशन

0

काठमाण्डौं – कोरोना भाइरसको महामारीसँग जोडेर पछिल्लो समय विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लाई ‘चीनपरस्त’को आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सङ्गठनलाई प्रदान गरिँदै आएको ‘फण्ड’ बन्द गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् ।

कोरोना भाइरस सङ्क्रमण फैलनुबाट रोक्न डब्लुएचओ आधारभुत तवरमा अक्षम भएको गम्भीर आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले यो सङ्गठनको जवाफदेहिता निर्क्योल गर्नुपर्ने समय आएको अभिव्यक्ति दिएका छन् ।

जब चीनबाट कोरोना सङ्क्रमण शुरु भएको थियो त्यतिबेलैदेखि डब्लुएचओले लापर्वाही प्रदर्शन गरेको र ‘यथार्थ’ तस्बिर छुपाएको ट्रम्पको आरोप छ ।

यतिबेला अमेरिका नराम्रैसँग कोरोना भाइरसको चपेटमा परेको छ । त्यहाँ २५ हजारभन्दा ज्यादा मानिसको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख जति सङ्क्रमित भएका छन् । महामारी रोक्न ठिक ढङ्गले काम नगरेको आरोप स्वयम् राष्ट्रपति ट्रम्प पनि खेपिरहेका छन् ।

ज्ञातव्य छ, डब्लुएचओलाई अमेरिकाले नै सबभन्दा ज्यादा सहायता प्रदान गर्दै आएको छ । बीबीसीका अनुसार पछिल्लो वर्ष मात्र अमेरिकाले ४० करोड डलर फण्ड प्रदान गरेको थियो ।

ह्वाइट हाउसको रोज गार्डेनमा बोल्दै राष्ट्रपति ट्रम्पले भने– ‘कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि डब्लुएचओको भूमिका के रह्यो, यसको समीक्षा अब गरिने छ ।’

अमेरिकाले वर्षेनी ४०–५० करोड डलर प्रदान गर्दै आएको उल्लेख गर्दै उनले डब्लुएचओलाई चीनले वर्षमा जम्मा चार करोड डलर मात्रै प्रदान गर्ने बताए । उनले भने– ‘यदि शुरुमै चीन गएर अवस्था बुझ्ने प्रयास गरेर सोअनुसार कदम चालेको भए र त्यहाँको अवस्था पारदर्शी किसिमले हाम्रासामु राखिदिएको भए यो भयावह अवस्था आउने नै थिएन ।’

Leave A Reply

Your email address will not be published.